२३ फागुन, मेचीनगर : पूर्वको धरानमा हुने “इष्ट टुरिजम मार्ट 2022 ETM” को प्रवर्धन गर्न एक टोली भारतको सिलिगुडी र बिहार प्रस्थान गरेको छ । सिलिगुडीमा शनिबारदेखि तीन दिनसम्म आयोजना भईरहेको “6th BENGAL TOURISM MART” मा पूर्वका व्यवसायीहरूले पूर्वको पर्यटन प्रवर्धन गरेका छन् ।
सो मार्टमा विराटनगर, धरान, इटहरी, दमक विर्तामोड र काँकरभिट्टा लगायत पोखरा बाट पर्यटन व्यवसायीहरू सहभागी भएका छन् । मार्टमा नेपाल पर्यटन बोर्डले नाट्टा पदेस नं. १ मार्फत नेपाली व्यवसायीहरूका लागि स्टल उपलव्ध गराएको थियो ।
बंगाल ट्राभल मार्टमा भएको सहभागिताले पूर्वी नेपालको पर्यटन प्रवर्धनमा राम्रो प्रभाव पर्ने इष्ट टुरिजम मार्टका संयोजक भविष श्रेष्ठले बताउनु भयो । बंगाल ट्राभल मार्टमा सहभागी बंगाल, सिक्किम र उडिसाका ट्राभल एजेन्टहरू संगको B2B ले आफूहरू उत्साहित भएको श्रेष्ठले बताए ।

बंगाल ट्राभल मार्टमा सहभागी भएको सो टोली इष्ट टुरिजम मार्टको प्रचार प्रवर्धन गर्न बिहारको किशनगञ्ज, पूर्णिया, कटिहार र दरभंगा समेत जाने छ । बिहारका ती स्थानहरूमा गएर त्यँहाका व्यवसायीहरूलाई मार्टको निम्तो दिने र पूर्वको प्रवर्धन गरिने नेपाल एशोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) प्रदेश नं. १ का अध्यक्ष तथा ETM सहसंयोजक उदय कुमार श्रेष्ठले बताए ।
“इष्ट टुरिजम मार्ट 2022” आगामी चैत्र ११, १२ र १३ गते धरानमा हुन लागेको छ । मार्टको यो तेस्रो संस्करण हो । सन् २०१८ र २०१९ मा आयोजना भएको मार्ट कोरोनाका कारण २०२० र २०२१ मा आयोजना हुन सकेन । कोरोनाको कारण ठप्प भएको पर्यटन व्यवसाय मार्ट जस्ता कृयाकलापले गति लिन सक्ने उदय कुमार श्रेष्ठले बताए ।

बंगाल र बिहार भ्रमण कार्यक्रमको संयोजन नेपाल पर्यटन बोर्ड र नाट्टा प्रदेस नं. १ ले गरेको हो । यस्ता कार्यक्रमले पर्यटन व्यवसायीहरूमा उर्जा संचार हुने र उत्साह बढ्ने भ्रमणमा सहभागी पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले बताए । भट्टराईले भने ‘पूर्वका मुख्य आगन्तुक बिहारी र बंगाली हुन् उनीहरूबीच भेटघाट र छलफलले पूर्वको पर्यटनमा सकारात्मक प्रभाव पर्नेछ । भ्रमणमा नाट्टा केन्द्रिय अध्यक्ष अच्युत गुरागाईं, होटल ब्यबसायी महासंघ प्रदेस १ अध्यक्ष राजन दंगाल, नाट्टा गण्डकी का कोषाध्यक्ष राजेश पहारी लगायत अन्य पर्यटन ब्यबसायीको सहभागिता रहेको छ ।

























