२९ भदौं, मेचीनगर : भारतको दार्जिलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा बृहत चर्चा गरिएको छ । भारतको प्रमुख पर्यटकीय गन्तव्य दार्जिलिङमा पश्चिम बंगालस्थित इष्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एशोसिएशन (EHTTOA)–ले आयोजना गरेको “दोस्रो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन” मा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा जाकारीमूलक चर्चा भएको हो ।
भारत, नेपाल र बंगलादेशका झण्डै दुई सय पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुका प्रतिनिधिहरुको सहभागितामा सेप्टेम्बर 11 र 12 तारिख दुई दिनसम्म चलेको सम्मेलनमा नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, धनकुटा, गोरखा, पोखरा, काठमाडौं, मनाङ–मुस्ताङ, हुम्ला, जुम्ला, मुगु, डोल्पालगायत नयाँ पर्यटकीय गन्तव्यहरुका बारे जानकारी गराइएको सम्मेलनमा सहभागी नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) प्रदेश नं १ का महासचिव नविन खरेलले बताउनु भयो ।
नेपालका तर्फबाट नेपाल पर्यटन बोर्डका म्यानेजर गोपाल भण्डारी र नाट्टा प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले नेपालको पर्यटन सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो । भारत तथा बंगलादेशका पर्यटन व्यवसायी र सरोकारवालाहरुले नेपालको प्रस्तुतिलाई चासोपूर्वक अवलोकन मात्र गरेनन् नेपालका पर्यटकीय गन्तव्यहरुका बारे उत्साहित हुँदै आफ्ना देशका नागरिकलाई सकेसम्म नेपाल घुम्न प्रोत्साहित गर्ने बताएका थिए । राफ्टिङ , बञ्जी, प्याराग्लाइडिङ, माउन्टेनिङजस्ता एड्भेन्चर र होमस्टेलाई प्राथमिकता दिइएको सम्मलेनमा नेपालमा त्यस्ता गन्तव्यहरु निकै रहेको प्रस्तुतिबाट थाहा पाएका सहभागीहरुले आफू पनि नेपाल घुम्न आउने र अरुलाई पनि घुम्न जान प्रेरित गर्ने बताएका थिए ।
इष्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर्स एशोसिएशनका अध्यक्ष देवासिस मैत्रको अध्यक्षतामा आयोजित समारोहका बीच सम्मेलनको उद्घाटन प्रमुख अतिथिका रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासक अनित थापाले गर्नुभएको थियो । उहाँले नेपाल, बग्लादेशसँँगको क्रस बोर्डर पर्यटनलाई विस्तार गर्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सधैँ तत्पर रहने बताउनु भयो । समारोहलाई पश्चिम बंगाल सरकारको पर्यटन विभागका डा. सौमित्र मोहन, इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष निशान्त मित्तल, जीटीए पर्यटन विभागका कार्यकारी सदस्य नोरदेन शेर्पा, दार्जीलिङ नगरपालिकाका प्रमुख रितेश पोर्तेललगायतले सम्बोधन गर्नुभएको थियो ।
समारोहमा तीनै देशको राष्ट्रगान बजाइएको थियो । सम्मेलनको पहिलो दिन ग्रामीण तथा एडभेन्चर पर्यटन, होमस्टे, बीटुबी मिटिङ, प्यानल डिस्कसनहरु भएको थियो भने दोस्रो दिन नेपाल टुरिजम बोर्ड र नाट्टा प्रदेस १ को तर्फ बाट प्रजेन्टेशन गरिएको थियो साथै म्याराथन दौड लगायतका कार्यक्रम भएको नाटा प्रदेश नं. १ का अध्यक्ष उदय कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
नेपालको तर्फबाट सम्मेलनमा पर्यटन बोर्डका गोपाल भण्डारी, नाटा प्रदेस नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, उपाध्यक्ष ऋषि तिम्सिना, महासचिव नविन खरेल, कोषाध्यक्ष सजित तामाङ, सल्लाहकार भविस श्रेष्ठ, सदस्य जीवन पराजुली, पूर्व उपाध्यक्ष ज्ञानमणि नेपाल, राजेश पहाडी, उषा खरेल, गीता पहाडी, आयुष खरेल, पत्रकार दीपक कार्की लगायतको सहभागिता रहेको थियो ।

























