२६ चन्द्रगढी, असोज : झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट तीनजनाले उम्मेद्वारी फिर्ता लिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि २३ वैशाख मनोनयन गराएका मध्ये प्रतिनिधि सभा निर्वाचनबाट एक र प्रदेश सभा निर्वाचनका दुईगरी तीनजनाले बुधबार आ आफ्ना उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो ।
उम्मेदवारी फिर्ता लिनेमा एकजना दल र दुईजना स्वतन्त्र उम्मेदवार रहेको उहाँको भनाई छ । निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राप्रपा नेपालकातर्फबाट मनोनयन गर्नुहुने सन्तराज कार्कीको उम्मेद्वारी दलको पत्रअनुसार फिर्ता गरिएको हो । यसैगरी प्रदेश सभा निर्वाचन २ ‘ख’बाट स्वतन्त्र उम्मेद्वार गीताप्रसाद अधिकारी र राजन चिमरियाले आफै उपस्थित भएर उम्मेद्वारी फिर्ता लिइएको बताईएको छ ।
प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा ‐४) तथा प्रदेश सभा सदस्य २०७४ को दफा २५ को उपदफा‐४) बमोजिम उहाँहरुको नाम उक्त पदको उम्मेद्वारीको सूचीबाट हटाईएको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो । अब प्रतिनिधि सभा सदस्य एक पदका लागि १५ जनाले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट ६ तथा क्षेत्र नम्बर २ ‘ख’ बाट १० गरी १६ जना चुनावी मैदानमा उत्रिएका छन् ।
यसअघि २३ असोजमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्यमा १६, प्रदेश सभा सदस्य ‘क’ मा ६ जना र प्रदेश सभा सदस्य ‘ख’ मा १२ जना गरी जम्मा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका थिए ।
प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वतन्त्र, राष्ट्रिय जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल जनता पार्टी, मंगोल नेशनल अर्गानाईजेशनले उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
त्यस्तै प्रदेश सभा सदस्य ‘क’ मा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मंगोल नेशनल अर्गानाइजेशन र मौलिक जरोकिलो पार्टीले उम्मेद्वारी दिएको छ ।
प्रदेश सभा सदस्य ‘ख’ मा राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, स्वतन्त्र, राष्ट्रि जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गानाईजेशन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समेत उम्मेद्वारी मनोनयन गराएको बताइएको छ ।


























