२६ भदौ, झापा : कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य एवम् नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीमाथि आक्रमण गर्ने सोहि पार्टीका झापा जिल्ला कमिटी सदस्य भुपाल ओलीले सोमबार आत्मासमर्पण गरेका छन् । यो कुरा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरक्षिक दिपक भारतीले पुष्टि गर्नुभएको छ ।
गएको असार ६ गते बुधबार झापाको मेचीनगर —६ स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहालमा आयोजित द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन आएका बखत पूर्व प्रदेशसभा सदस्य मैनालीमाथि जिल्ला कमिटी सदस्य ओलीले हातपात र दुव्र्यव्यवहार गरी फरा भएका थिए ।
घटनाको विरोध गर्दै विभिन्न संघ संस्थाहरुले ओलीलाई कानुनी कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दर्ता गरेका थिए । एमालेले पनि ओलीको कार्यशैली गलत भएको भन्दै भोली पल्ट पार्टीको आकस्मिक बैठक बसी कार्वाही प्रक्रिया अगाडि बढाएको थियो । तत्कालिन मेची वस व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका मैनालीलाई हातपात गरेको कारण प्रालिले ओलीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दे प्रहरीमा जाहेरी दिएको थियो ।
प्रहरीले ओलीको खोजीका लागि गोप्यरुपमा सादापोशाकमा प्रहरी परिचालन गरिहेको थियो । ‘ओली प्रहरीको फरार सूचीमा रहेको र प्रहरीले तीव्ररुपमा खोजी रहेको थियो एकजना अनुसन्धान अधिकृतले भने —‘झण्डै अढाईमहिनापछि उनी आफै इप्रका उपस्थित भए ।’ ओली अहिले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो ।

आवश्यक सोधपुछ शुरु भएको र कानुन अनुसार कारवाही अघि बढाउने उहाँको भनाई छ । कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य मैनाली हाल अमेरिका भए पनि उहाँको परिवारले ओलीलाई कानुनी कारवाही गर्न माग गरेको छ । समाचार स्रोतका अनुसार मंगलबार यहि विषयमा छलफल छ । ओलीले सोमबार आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर यो घटनाबाट आफु पनि दुखित भएको, हिजोका कमिकमजोरीलाई सुधार गरेर आगामी दिनमा काका भतिजको सम्बन्ध समधुर बनाएर अघि बढ्ने लेखेका छन् ।


























