३ पौष, मेचीनगर: झापाको मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को सुत्केरी पोषण भत्ता वितरण कार्य मंगलबारबाट शुरु गरेको छ । मेचीनगर नगरपालिका, विपन्न परिवारका महिलाका लागि सुत्केरी पोषणभत्ता वितरण कार्यविधि २०७५ अनुसार नगरका १५ वटै वडामा सुत्केरी पोषणभत्ता वितरण गर्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मेचीनगर नगरपालिका वडानम्बर- ९ बाट सुत्केरी पोषण भत्ता वितरण कार्य शुरु गरीएको हो । वडा कार्यालयको सभाहलमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, वडानम्बर -९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ, सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य हृदय राजवंशीलगायतले लाभग्राहीलाई सामग्री वितरण गर्नुभएको स्वास्थ्य शाखा सहसंयोजक रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार १ केजी नौनी घ्यू, १ केजी मह तथा गेडागुडीलगायतका सुत्केरीकालागि पौष्टिक आहार प्रदान गरीएको थियो ।
वडानम्बर ९ मा बर्षा श्रेष्ठ, सुनिता कार्की, झरना परियार, शान्तकुमारी धमला, अनिता कट्वाल, कञ्चन गुरागाईँ र मेनुका खड्का लाभग्राहीलाई ती सामाग्री वितरण गरिएको हो । विपन्न परिवारका सुत्केरीहरुबाट पोषणभत्ता प्राप्तिका लागि परेका निवेदनहरु माथि छलफल गरी पोषण भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम सिफारिस गर्न नगरप्रमुखको संयोजकमा समिति गठन गरिएको छ । उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिकाले मनोनित गरेको कार्यपालिका सदस्यमध्येबाट २ जना महिला समितिको सदस्य रहने कार्यविधिमा उल्लेख छ । नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख समितिको सदस्य सचिव रहने व्यवस्था छ ।
लाभग्राहीबाट प्राप्त निवेदन उपर छलफल, पोषणभत्ताको रकम सिफारिस, महिला प्रसुती सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालनका नीति तथा कार्यक्रम तयार गरी कार्यपालिका बैठकमा पेश गर्ने जस्ता काम कर्तव्य र अधिकार समितिलाई छ । लाभग्राही छनौट गर्दा लाभग्राही मेचीनगर नगरपालिकाको स्थायीवासी हुनुपर्ने, विपन्न परिवारको हुनुपर्ने, निवेदकको दुईजना वा सो भन्दा कम सन्तान भएको हुनुपर्ने,नवजात शिशु स्वास्थ्य संस्थामा जन्मिएको र तोकिएको खोप लगाएको हुनुपर्ने, निवेदक वा सूचकले बालबालिकाको जन्मदर्ता सन्तान जन्मिएको ३५ दिनभित्र गर्नुपर्ने, सुत्केरी पोषण प्राप्त गर्न ९० दिनभत्रि नगरपालिकामा निवेदन पेश गरिसकेको हुनुपर्नेलगायतका प्रक्रिया रहेको छ ।
निवेदन, नेपाली नागरिकताको प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र, बालक – बालिकाको जन्मदर्ताको प्रमाण पत्र तथा बसाईसरी आएको भए बसाई सराईको प्रमाण पत्र पोषण प्राप्तका लागि पेश गर्नुपर्ने छ । यसअघि नगरपालिकाले प्रत्येक सुत्केरीलाई नगद रकम वितरण गरेको भएपनि यसको दुरुपयोग भएको भन्दैं आलोचना हुन थालेपछि पछिल्लो समयबाट पोषणयुक्त खानेकुरा प्रदान गर्न थालिएको स्वास्थ्य शाखाले जनाएको छ ।

















