काँकरभिट्टा : अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा उज्बेकिस्तानको व्ल्याक बुल्स एफसी पाँचौँ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ। टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को हार बेहोर्दै पाहुना टोली प्रतियोगिताबाट बाहिरिएको हो।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो। टाइब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरे। व्ल्याक बुल्सका लागि खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार धरानका गोलरक्षक बिपुल मगरले रोकिदिए।
खेलको ६०औँ मिनेटमा व्ल्याक बुल्सले अग्रता लिएको थियो। इस्लोमजोनको क्रस पासमा आशिषभेक एरिफजोनोभले हेडरमार्फत सुन्दर गोल गरेका थिए। तर, ८४औँ मिनेटमा धरानका कप्तान मिलन राईको पासमा वैकल्पिक खेलाडी सुगम जिमीले गोल गर्दै खेल बराबरीमा ल्याए। जिमीले व्ल्याक बुल्सका डिफेन्डरहरूको गल्तीको फाइदा उठाउँदै सहज गोल गरेका थिए।
खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए। चौथो मिनेटमा धरानका रोमन लिम्बूले फाउल गरेपछि व्ल्याक बुल्सले फ्रिकिकको अवसर पाएको थियो, तर आसिभेकको प्रहार गोलपोस्ट बाहिरियो। ३३औँ मिनेटमा धरानका कप्तान मिलन लिम्बूको प्रहार पनि लक्ष्यमा जान सकेन। ४३औँ मिनेटमा व्ल्याक बुल्सका अलिजोनको हेडर धरानका गोलरक्षक प्रविन लिम्बूले बचाए।
दोस्रो हाफमा पनि दुवै टोलीले अवसरहरू सिर्जना गरे। ४८औँ मिनेटमा धरानका मौसम सुब्बालाई फाउल गरेपछि मिलन राईले फ्रिकिक प्रहार गरे, तर गोल हुन सकेन। ७०औँ मिनेटमा धरानका सुरज रसाइलीको प्रहार व्ल्याक बुल्सका गोलरक्षकले रोके। त्यस क्रममा तपन कार्की र सुरज रसाइलीबीच तालमेल नमिल्दा धरानले गोल गर्ने अवसर गुमायो।
खेलपछि धरानका प्रशिक्षक हेम गुरुङले बलियो प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकै कारण जित हात पार्न सफल भएको बताए। उनले विपक्षी टोलीको रणनीति बुझेर खेल्नु नै जितको कारण भएको उल्लेख गरे। व्ल्याक बुल्सका प्रशिक्षक सामिप्य सुवेदीले लामो यात्राका कारण खेलाडीहरू थकित भएकाले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए। साथै, टिमका केही महत्त्वपूर्ण खेलाडीहरूको अभावले खेल गुमाउनुपरेको उनको भनाइ थियो।
खेलको ‘प्लेयर अफ द म्याच’ धरानका वैकल्पिक गोलरक्षक बिपुल मगर घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
मंगलवारको खेल विभागीय टिम एपीएफ एफसी र मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष नवराज ओलीले जानकारी दिए।
चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १० लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख नगद र ट्रफी हात पार्नेछ। उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षकले जनही २१ हजार तथा उदीयमान खेलाडीले ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

























