९ जेठ, काँकरभिट्टा: विद्यार्थीहरूमा पठन संस्कृतिको विकास र ज्ञानको अभ्यासलाई संस्थागत बनाउने उद्देश्यले काँकरभिट्टास्थित अरुणदोय अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा ‘रिडर्स क्लब’ गठन गरिएको छ।
रिडर्स अभियान नेपालको अवधारणामा आधारित क्लब गठन कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोष आचार्य र विधान मस्यौदा समितिका संयोजक ज्ञानेन्द्र निरौलाको विशेष उपस्थिति थियो।
क्लबको अध्यक्षमा सिद्धान्त तामाङ चयन भएका छन् भने उपाध्यक्षमा विज्ञान काफ्ले र सचिवमा समिका गौतम जिम्मेवारीमा चयन भएका छन्। सदस्यहरूमा सञ्जु पुरी, आयुसा पौडेल, रिवाज गौतम र रिदिमा खड्का रहेका छन्। क्लबका अभिभावक शिक्षकको भूमिकामा नेहा रेग्मी रहेका छन्, जसले विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने जिम्मा लिएकी छन्।
अध्यक्ष आचार्यका अनुसार क्लबले पाठ्यपुस्तकबाहेकका सामग्री पढ्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्नेछ, जसले उनीहरूको सिर्जनशीलता, अभिव्यक्ति क्षमता र विश्लेषणशक्ति अभिवृद्धि गर्नेछ। कार्यक्रमका अवसरमा रिडर्स अभियान नेपालका तर्फबाट क्लबलाई प्रारम्भिक पठन सामग्रीस्वरूप केही पुस्तकहरू पनि हस्तान्तरण गरिएको छ।
रिडर्स क्लबको स्थापनालाई काँकरभिट्टाको शैक्षिक क्षेत्रको एक सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकबीचको सहकार्यले क्लबले आगामी दिनमा पठन–संस्कृतिको अभ्यस्त समाज निर्माणतर्फ मार्गचित्र तय गर्ने विश्वास गरिएको छ। कार्यक्रम विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, सह-प्रधानाध्यापक किरण अधिकारीको उपस्थितिमा सम्पन्न भएको थियो ।

























