इन्डियन प्रिमियर लिगको यस सिजनको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलोर (RCB) ले जितेको छ। एक रोमाञ्चक फाइनल खेलमा पञ्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै RCB ले आफ्नो पहिलो IPL उपाधि हात पारेको हो।
टस जितेर ब्याटिङ रोजेको रोयल च्यालेन्जर्स बेङ्गलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। १९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किङ्ग्सले उत्कृष्ट प्रदर्शन गरे पनि १८४ रनमा समेटिन पुग्यो र उपाधिबाट वञ्चित भयो।
बेङ्गलोरको ब्याटिङ प्रदर्शन
RCB का लागि ब्याटिङमा विराट कोहलीले ४३ रनको महत्त्वपूर्ण योगदान दिए भने कप्तान रजत पाटीदारले २६ र मयंक अग्रवालले २४ रन जोडे। यस्तै, लियाम लिभिङस्टोन २५, जितेश शर्मा २४, रोमारियो शेफर्ड १७, फिल्ट साल्ट १६ रन बनाए।
पञ्जाबका बलरहरूले कसिलो बलिङ गर्दै बेङ्गलोरलाई ठूलो स्कोर बनाउनबाट रोके। अर्शदीप सिंह र कायल जामिएसनले ३-३ विकेट लिए भने अजमातुल्लाह ओमरजाई, विजय कुमार व्यस्क र युजवेन्द्र चहलले १-१ विकेट हात पारे।
पञ्जाबको सङ्घर्षपूर्ण जवाफ
१९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाब किङ्ग्सका लागि शशांक सिंहले विष्फोटक ब्याटिङ गर्दै ६१ रन बनाए। यद्यपि, उनको पारी टोलीलाई जित दिलाउन पर्याप्त भएन। शशांकबाहेक जोश इङ्लिसले ३९, प्रभसिमरन सिंहले २६ र प्रियन्श आर्याले २४ रन जोडे।
बेङ्गलोरको बलियो बलिङ आक्रमणसामु पञ्जाबका अन्य ब्याट्सम्यानहरू टिक्न सकेनन्। बेङ्गलोरका लागि भुवनेश्वर कुमार र क्रुणाल पाण्ड्याले २-२ विकेट लिए भने यश दयाल, जोश हेजलवुड र रोमारियो शेफर्डले १-१ विकेट लिए।
दुबै टोलीको फाइनल यात्रा
यो रोयल च्यालेन्जर्स बेङ्गलोरको चौथो IPL फाइनल थियो। यसअघि उनीहरू २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किङ्ग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएका थिए। यसपटक भने उनीहरूले इतिहास रचे र उपाधि हात पारे।
पञ्जाब किङ्ग्सका लागि भने यो दोस्रो फाइनल थियो। यसअघि २०१४ मा कोलकाता नाइट राइडर्ससँग पराजित भएको पञ्जाबले यसपटक पनि उपाधि जित्न सकेन।
यो सिजनको लिग चरणमा भएको भेटमा पञ्जाबले बेङ्गलोरलाई पाँच विकेटले हराएको थियो भने बेङ्गलोरले सात विकेटको जित निकालेको थियो। तर फाइनलमा भने बेङ्गलोरले बाजी मार्यो र आफ्ना लाखौं समर्थकको सपना पूरा गर्यो।
यो अविस्मरणीय जितले रोयल च्यालेन्जर्स बेङ्गलोरका समर्थकहरूलाई लामो समयदेखिको प्रतीक्षाको अन्त्य गरेको छ। यस उपाधिले टोलीको कडा परिश्रम र दृढ सङ्कल्पलाई प्रमाणित गरेको छ।

























