काठमाडौँ, साउन ४: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई सन् २०२४ को आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको छ। सिङ्गापुरमा सम्पन्न आईसीसीको वार्षिक साधारण सभामा उक्त अवार्ड नेपाललाई प्रदान गरिएको हो।
सभामा आईसीसी अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड हस्तान्तरण गरेका थिए।
आईसीसी विकास श्रेणी अवार्डअन्तर्गत यो अवार्ड नेपालले दोस्रोपटक प्राप्त गरेको हो। एसिया क्षेत्रको विजेता बनेर नेपाल उक्त अवार्डको ग्लोबल छनोटमा परेको थियो।
उक्त छनोटमा क्षेत्रीय विजेताको रूपमा एसियाबाट नेपाल, अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिकबाट इन्डोनेसिया ग्लोबल छनोटमा परेका थिए। यो अवार्डले क्रिकेट विकासमा नेपालको डिजिटल संलग्नता र फ्यानहरूलाई जोड्ने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।


























