इटहरी , फागुन १९ । सुनसरीको इटहरीमा जारी १ नम्बर प्रदेश स्तरीय भेट्रान नकआउट फूटबल प्रतियोगिता-२०७७ को बुधबार सम्पन्न खेलमा हाम्रो इटहरी भेट्रान फूटबल क्लब,सुनसरीले दुधे भेट्रान फूटबल क्लब, झापालाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
इटहरी –५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज सम्पन्न भएको खेलमा विजयी टिमका तर्फबाट खेलको१२ औं मिनेटमा लिलाराम मगरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसैसरी खेलको २५औं मिनेटमा सन्तोष बस्नेत र ३४ औं मिनेटमा तीर्थ याक्सोले समान १/१ गोल गर्दै आफ्नो टिमलाई जीत दिलाए। खेल अवधिभर दुधे भेट्रान एफसी लयमा फर्कन नसक्दा हाम्रो भेट्रान इटहरीले ३-० को सहज जीत निकालेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका हाम्रो इटहरी भेट्रान एफसीका मिडफिल्डर नरेन्द्रमणि लिम्बु ´म्यान अफ दि म्याच ` घोषित भए । उनलाई व्यावसायी ,समाजसेवी राजेन्द्र खड्काले खेलकूद सामाग्री हस्तान्तरण गरे ।
भोलिको दोस्रो सेमीफाइनल खेल जहदा भेट्रान एफसी र विराट भेट्रान एफसी, मोरङ बिच दिनको ३ बजे हुने आयोजकका सचिव श्याम चौधरीले मेरोमेचीनगर अनलाइनलाई जानकारी दिए । हाम्रो इटहरी भेट्रान फूटबल क्लबको आयोजना ,इटहरी उपमहानगरपालिकाको संयोजन, मुख्य प्रायोजक गोरखा ब्रुअरी प्राली र सह प्रायोजक गोकुलम रिसोर्ट रहेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफि पाउने छन् ।

























