२९ कात्तिक, मेचीनगर : पछिल्लो समय पूर्वीनाकाबाट पेट्रोलियम पदार्थ भित्रिन थाले लगत्तै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा समेत उल्लेखिय प्रगति भएको छ ।
केही वर्ष अघिसम्म विराटनगर नाका भएर ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो । तर, पछिल्लो केही महिनादेखि काँकरभिट्टा नाका भएर भारी मात्रामा पेट्रोलियम पदार्थ आयात हुन थालेको भन्सार अधिकारीहरुको भनाई छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।
कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बंगलादेशबाट नेपाल आउने पेयपदार्थले धानेको छ । बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्घत पुगेको छ । विराटनगर भन्सारसम्म पुग्दा ढुवानी बढी भएको र काँकरभिट्टा नाका भएर आउँदा छोटो बाटो र सहज हुने भएकाले अहिले यस नाकाबाट अत्यधिकमात्रामा, पेट्रोलियम पदार्थ आयात हुने गरेको भन्सार अधिकृत रामप्रसाद भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो साउन महिनामा कार्यालयको लक्ष्यको तुलनामा राजस्व असुली ४८ दशमलव ११ प्रतिशत बढी छ । भन्सार अधिकृत भट्टराईका अनुसार साउन महिनामा ९२ करोड ५९ लाख ७२ हजार राजस्व असुली गर्ने लक्ष्य भएपनि १ अर्ब ३७ करोड १४ लाख ५३ हजार ७ सय ७९ रुपैयाँ असुली भएको छ ।
यसैगरी भदौमा कार्यालयले १ अर्व २१ करोड ४५ लाख ५० हजार राजस्व असुली गर्नुपर्ने लक्ष्य पाएको थियो । त्यो महिना १ अर्व ३० करोड ७७ लाख ६४ हजार ६ सय २६ रुपैयाँ वा १ सय ७ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको छ ।
असोजमा १ सय ८ दशमलव ७५ प्रतिशत वा १ अर्ब ३५ करोड ६४ लाख ५ हजार ३ सय ८५ रुपैयाँ रुपैयाँ राजस्व संकलन गरेको उहाँले बताउनुभयो । असोजको लक्ष्य भने १ अर्व २४ करोड ७२ लाख ८१ हजार रुपैयाँ थियो ।
कात्तिक महिनाको लक्ष्य १ अर्व ३१ करोड ९७ लाख २७ हजार लक्ष्य भएपनि २८ गतेसम्म १ अर्व १ करोड १४ लाख ४६ हजार २ सय ३० रुपैयाँ वा ७६ दशमलव ६४ प्रतिशत राजस्व असुली भईसकेको छ ।
विभागले दिएको राजस्व असुलीको वार्षिक लक्ष्य पुरा गर्न कार्यालयले अवैधरुपमा हुने चोरी निकासी नियन्त्रणका लागि गस्ती परिचालन चेकजाचमा समेत कडाई गर्ने गरेको बताईएको छ । यसअघि मेची भन्सार कार्यालय काँकरभिट्टाकको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालय मुल भन्सारको रुपमा स्थापित भएका कारण पनि राजस्व असुलीमा असर पुग्ने गरेको थियो ।
पूर्वीनाका भएर खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरु लगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् । मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपर लगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

























