१९ जेठ, काठमाडौँ : आज पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा विहार आसपास रहेको न्यून चापीय रेखाको देशभर प्रभाव रहेको छ। जसले गर्दा अहिले प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
त्यस्तै, आज दिउसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति पनि प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

























