अस्पतालको हेलचेक्राइको कारण छोरीको निधन भएको भन्दै र न्यायका लागि संघर्ष गर्दै चर्चित सर्जक “गौरव दर्पण”

A notice in Nepali from Mechinagar Ward No. 10
 कमल पोखरीको हिमाल अस्पताल र डा. जयदेव यादवको लापर्वाहीका कारण ज्यान गुमाएकी आफ्नो २८ महिने नानी प्रशंसा गौतमको न्यायको लागि चर्चित सर्जक( पूर्वै रमाइलो गीत) गौरव दर्पणको खबर यतिखेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बढी देखिन्छ। केहिदिन अघि मात्र दमक,उर्लाबारी र पथरीका विभिन्न सङ्घ संस्थाबाट सामाजिक व्यक्तित्वहरू, सामाजिक अभियन्ताहरू, लेखक तथा पत्रकार आदिको उपस्तिथिमा पीडितलाई न्याय दिलाउन ऐक्यबद्धता जनाउँदै विरोध सभा गरेका थिए।
के हो घटना ?
कमल पोखरी काठमाडौँमा रहेको हिमाल हस्पिटलका डाक्टर जयदेव यादवको लापरबाहीका कारण संगीतकार तथा गायक गौरभ दर्पण र आशिका भण्डारीकी छोरी प्रशंसा गौतमको गत माघ २६ गते निधन भएको पीडीत पक्षले आरोप लगाउँदै प्रेस विज्ञप्ति पनि जारी गर्दै न्यायका लागि सबैको साथको अपेक्षा गरेको थियो।
दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ र निको पारेर फर्काईन्छ । त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी मेरी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले ४ दिनदेखि लगातार डाक्टरको सम्पर्क र निगरानीमा हुँदाहुँदै पनि उचित उपचार नपाएर मृत्युवरण गर्नु पर्यो, किन ? हाम्रो स्वास्थ्य प्रणालीमा वा उपचार पद्धतिमा कहीँ कतै कमजोरी छ कि किन यस्तो हुन्छ ? कि नेपालमा बेचिने औषधीमा खराबी छ ? कि डाक्टरको योग्यतामा कमजोरी छ ? बिरामीको उपचार गर्दा अवस्था अध्ययन गर्ने, जाँच गर्ने अनिवार्यता हुन्छ कि हुँदैन ? छोरी प्रशंसालाई सामान्य रुघाखोकी थियो, नक्सालको एक क्लिनिकमा देखाएर औषधी लगेर खुवाइयो । २–३ दिनसम्म बेलाबेला कम हुँदै फेरि ज्वरो फर्किने हुन थालेपछि २३ गते नक्साल, कमलपोखरीकै हिमाल हस्पिटलमा लगेर त्यहाँ उपलब्ध बच्चाको डाक्टर डा. जयदेव यादव (एन.एम.सी. नं. १०८४५) लाई देखायौँ । अगाडि खुवाई रहेको औषधि र अवस्था सबै देखाएपछि डाक्टरले आफ्नो उपचार थाले । ज्वरो नाप्ने मुखभित्र हेर्ने, छातीको आवाज सुन्ने आदि । ‘भाइरल ज्वरो हो, म दबाई लेखिदिन्छु, खुवाएर हेर्नुस् अनि ४ दिनपछि मलाई आएर भेट्नुस्’ भनेर शुक्रबारलाई फलोअपको लागि बोलाउँदै हामीलाई पठाए । छोरीलाई उनले दिए अनुसार दबाई र खाना खुवाउँदै भोलिपल्टसम्म हेर्यौँ, तर सुधार देखिएन । अलिअलि गर्दै छोरीको खाना कम हुँदै गयो । उनी कमजोर देखिन थालिन्, फेरि भोलिपल्टै लिएर गयौं र उनै डाक्टरलाई देखायौं, ‘औषधीले काम गर्न थालेको हो, डराउनु पर्दैन झोलिलो कुरा प्रसस्त खुवाउनुस्’ भने । मलाई डर लागेर ‘कि केही अरु जाँचहरु गराएर हेर्नुपर्छ कि ?’ भनेर सोध्दा डाक्टरले ‘केही पर्दैन, बरु यही ल्याएर बिहान बेलुका ३ दिन बाफ लगाउनु, म लेखिदिन्छु’ भनेपछि हामीले पनि त्यही गर्यौं । त्यो सबै गर्दै गर्दा पनि नानीलाई सञ्चो भएन घ्यारघ्यार बढ्न थाल्यो । दिउँसो छोरी सुतेको बेला अलि ज्यादै ‘घ्यारघ्यार’ भएको सुनेर मोबाइलमा छोरीको भिडियो समेत खिचेर लगेर डाक्टरलाई देखायौँ । डाक्टरले भने ‘त्यो हेर्नै पर्दैन बिरामीलाई यही देख्खिरहेको छ ।’ उक्त कुरालाई खासै महत्व दिएनन् । बिहान बेलुका दुई पटक हस्पिटल जाँदै बाफ लगाउँदै साँझ फेरि डाक्टरलाई देखाउँदै गर्यौं । बुधबार डाक्टरलाई भेट्दा छोरीको अनुहार हल्का सुन्निएको र पेट अलिकति फुलेको पनि देखाएँ र ‘कि एक्सरे गरेर हेरौँ’ भनेर सोधेँ । डाक्टरले ‘यो सामान्य हो, खाना नखाएर ग्याँसले होला’ भने । बिहीबार पनि बिहान बाफ लगाउन लैजाँदा ईमर्जेन्सीका नर्सहरुले ‘नानी सिथिल छिन् त’ भन्दै थिए । तर डाक्टरलाई रिपोर्ट गरेनन् होला । सोही दिन बेलुका ५:३० मा फेरि छोरीलाई लिएर गयौँ, बाफ लगायौँ र डा. को क्याबिनमा लिएर गयौँ । छोरी कुर्सीमा बस्न सकिनन् अनि बेडमा सुतायौँ । सबै अवस्था बेलिबिस्तार लगाएर ‘अब बरु भर्ना गरेरै उपचार गरौँ, घरमा राख्दा गाह्रो होला’ भनेर डाक्टरलाई भन्यौँ । तर डाक्टर फेरि पनि ‘आत्तिनु पर्ने कुरा छैन तर त्यसो भन्नुहुन्छ भने एउटा एक्स–रे हेरौँ अनि रगतको जाँच पनि गरौँला’ भनेर लेखिदिए । हामी एक्सरे गराउन गयौँ र लिएर आयौं, जब रिपोर्टमा फोक्सोमा दुबैतिर निक्कै पानी फैलिएको देखियो तब मात्र बिरामीको स्याचुरेसन (अक्सिजन) जाँचियो र भर्ना प्रकृया सुरु गरियो । अक्सिजन लेवल धेरै घट्न थालेपछि ‘यहाँ भर्ना नगरौँ, अर्कै अस्पताललाई रेफर गरिदिन्छौँ, PICU भएको हेम्स अस्पतालमा पठाइदिन्छौँ’ भने । त्यो पनि मान्न हामी तयार भयौँ । तर फोनमा डाक्टरले बिरामीको कन्डिसन बताएपछि हेम्सको डाक्टरले नपठाउनु भने । त्यसपछि डा. जयदेव यादवले अर्को नाटक रचेर भने, ‘कान्ती बाल अस्पताललाई मैले कुरा गरेँ, बेड खाली छ, लेटर लेखिदिन्छु सिधै ईमर्जेन्सीमा लैजानु र मेरो नाम लिनु ।’ हामी अत्ताल्लिएका बाबुआमा त्यो पनि मन्जुर गरेर एम्बुलेन्स खोज्न थाल्यौँ । जब बिरामीलाई गाडीमा सार्न लाग्यौं डा. जयदेब यादवले एउटा पत्र लिएर आए र हातमा दिँदै ‘यो मात्र लिएर जानुस् अरु कागजात केही लानु पर्दैन भन्दै छोरीको मेडिकल रेकर्ड कार्ड (प्रेसक्रिप्सन) नर्सलाई लुकाउन लगाए । त्यतिबेला भने मेरो मनमा चिसो पस्यो र डा. को आँखा छलेर गएर काउन्टरमा नर्सको हातबाट कागज खोसेर बोकेर हिडेँ । त्यसपछि अक्सिजन जोडिजोडि नै नानीलाई कान्ती बाल अस्पताल पुर्यायौँ । त्यहाँ अस्पतालले बेड खाली नभएको भनेर लिनै मानेन फेरि त्यहाँ कुनै डाक्टर वा हिमाल हस्पिटलले केही खबर गरेको छैन, कसैसँग कुरा गरेको छैन भनेर नानीको अवस्था नाजुक भैसकेको भन्दै तुरुन्तै PICU भएको अर्को अस्पताल लैजान सुझाव दिए । हामीले खोजि गर्ने क्रममा मेट्रो हस्पिटलमा बेड खाली भएको बुझेर फेरि एम्बुलेन्स बोलाएर त्यहाँ पुर्यायौँ । मेट्रो हस्पिटल पुग्दासम्म छोरीले बोलाउँदा रेस्पोन्स गरिरहेकी थिइन् । तर त्यो बेलासम्ममा छोरीको स्याचुरेसन ५० को हाराहारीमा झरिसकेकोले सिधै सघन उपचार कक्षमा हालियो । उता छोरीको उपचार सुरुभयो यता हामी अन्य कागजी प्रकृया मिलाउन थाल्यौँ । लगभग एक घण्टापछि भित्रबाट मलाई बोलाइयो र म भित्र गएँ । छोरी हेर्न सकिने अवस्था मै थिईनन् । हाम्रो काख र अँगालो रित्तिईसकेको थियो । बाँकी कुरा हजुरहरुलाई अवगत भैसक्यो ।
१. चार/पाँच दिनदेखि ज्वरो तथा खोकी लागेको बच्चालाई किन कुनै परीक्षणहरू गरिएन र उपचार थालियो ।
२. लगातार ३ दिनसम्म बाफ लगाउन लगाएर पनि किन एक्स–रे, रगत जाँच तथा पिसाप जाँच जस्ता अति आवश्यक जाँचहरू गरिएन ? ३. पेट फुल्ने, अनुहार सुन्निने घ्यारघ्यार हुने, लामो समय पिसाप नहुने जस्ता लक्षणहरू थपिँदै जाँदा अभिभावकहरूको कुरामा किन ध्यान दिइएन र किन मानिएन ?
४. अस्पतालले PICU आवश्यक छ भनी त्यहाँबाट अर्को अस्पताल पठाउनु अघि ‘कान्ति अस्पतालमा PICU खाली छ, सम्बन्धित डाक्टरसँग कुरा भयो, छिटो लैजानोस्’ भनेर त्यहाँ कसैसँग कुरा नगरी PICU खाली नभएको ठाउँमा पठाएर त्यस्तो संवेदनशील अवस्थामा किन खेलबाड गरियो ?
५. रेफर लेटरमा डाक्टरको हस्ताक्षर नगरी र अस्पतालको छाप समेत नहानी किन पठाइयो ?
६. बिरामीको पुरानो चार दिनदेखिको हिमाल हस्पिटलको मेडिकल रेकर्ड र औषधी किन लुकाउने कोसिस गरियो ? – अब म के गरौं ! कोसँग लडौँ ? – मसँग को उभिन्छ ? देश कि नागरिक ? – यति संवेदनशील सेवामा किन लापरवाही गरियो ? – यो विषयमा विज्ञ म हो कि डाक्टर ? उसको कुरा मानेर मैले कहाँनिर गल्ती गरेँ ? – मैले बेहोरेको क्षति यो राज्यको क्षति हो कि होईन ? – सम्बन्धित डाक्टरको योग्यता छानबिन हुनुपर्छ कि पर्दैन ? – न्याय माग्न पाउने अधिकार त छ तर न्याय पाउने भरोसा कस्ले दिन्छ ? उजुरी गर्नु पर्ने निकायहरुमा उजुरी गरिसकेको छु अब सबैले सबैलाई भनिदिनुस्, बोलिदिनुस्, सँगै उभिइदिनुस् हामीले भोगेको क्षति अरुले भोग्नु नपरोस् भन्ने चाहन्छु । त्यसैले न्यायको आशा गर्दछु । प्रशंसा गौतमको बाबा गौरभ दर्पण (गंगा गौतम)
यस्तो थियो अस्पताल र पीडित पक्षबीचको सहमति पत्र
हिमाल अस्पताल र पीडित पक्षबीच घटनाको अनुसन्धान छानबिन अघि बढाउने र पीडितको माग सम्बोधन गर्ने सहमति पत्रमा उल्लेख भएपनि अस्पतालअघि सुरक्षाकर्मी तैनाथ बढाएर अस्पताल प्रशासनले सम्बोधन नगरेको पीडित पक्षको ठहर छ ।त्यसैगरी नेपाल चिकित्सक सङ्घले पनि प्रेस विज्ञप्ती जारी गर्दै अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीहरु सुरक्षित हुन नसकेकोको कुरा उल्लेख छ।
यस्तो छ विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.