१९ जेठ, काठमाडौँ : आज देशभरको मौसम सामान्यतया सफा रहनेछ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ।
पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने मौसमविद् गोविन्द झाले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार मधेष प्रदेश र कोशी प्रदेशका झापा, मोरङ्गङ्ग, सुनसरी जिल्लाहरुका अझै बढ्ने सम्भावना छ। दुईतीन दिनदेखि ती स्थानको तापक्रम ४० देखि ४१ डिग्रीसम्म मापन गरिएको छ।
‘पश्चिमी र स्थानीय वायु कमजाेर भएकोले तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले गर्मी बढ्ने क्रम अझै केही दिन जारी रहन्छ,’ उनले भने ।
उपत्यकामा पनि तुलनात्मक रूपमा तापक्रम केही बढ्ने मौसमविद् अधिकारीले जानकारी दिए।
उपत्यकाको तापक्रम बुधबारको तुलनामा बिहीबार केही बढेको थियो। आज पनि तापक्रम केही बढ्ने सम्भावना रहेको अधिकारीले बताए।
केही दिनदेखि उपत्यकाको अधिकतम तापक्रम ३० देखि ३१ डिग्रीसम्म मापन भएको छ। ‘केही दिन गर्मी बढ्ने क्रम जारी रहन्छ,’ उनले भने।
उपत्यकामा दिउँसो केहीबेर मौसम बदली हुने देखिए पनि बर्षाको सम्भावना भने नरहेको अधिकारीले जानकारी दिए।
त्यस्तै तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।

























