३२ जेठ, मेचीनगर : अहिले नेपाल पत्रकार महासंघ देशव्यापीरूपमा सदस्य शुद्धीकरण महाअभियानमा छ । म पनि भन्छु महासंघलाई सक्रिय र व्यवसायिक पत्रकारहरूकाे साझा संस्था बनाउनका लागि सदस्य शुद्धीकरण आवश्यक थियाे र छ । तर, झापामा अहिले जसरी शुद्धीकरण गर्ने विषयमा विभिन्न समाजिक सञ्जालमा प्रेस विज्ञप्ति र आराेप प्रत्याराेप भईरहेकाे छ त्याे देखेर केही लेख्न र नेपाल पत्रकार महासंघ झापा शाखालाई प्रश्न गर्न मन लाग्याे ।
शुद्धिकरणलाई साच्चिकै शुद्धिकरण बनाउन महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईकाे संयाेजकत्वमा महिला उपाध्यक्ष सुशीला संग्राैला, सचिव डिकेश लामा, सहसचिवद्वय राजु पाठक र अर्जुन राजवंशी र सदस्यहरू सुनिरा मैनाली र राजन साम्पाङ्ग सदस्य रहहेकाे कार्यदल २८ मे २०२३ मा गठन गर्याे ।
कार्यदल के गर्दैछ म बेखवर छु । सामाजिक सञ्जाल हेर्दा लाग्छ झापामा गन्नै नसकिने कार्यदल छ । तर, कुन आधिकारीक हाे, म भन्न सक्ने अवस्थामा छैन् । केही दिनअघि एकजना पत्रकार मित्रले आफ्नै फेसबुक पेजमा थुप्रै पत्रकारहरूकाे नाम भएकाे एउटा पत्र पाेस्ट गर्नुभयाे ।
“कार्यदलले प्रतिवेदन नबुझाएसम्म निम्न सदस्यहरूकाे सदस्य नविकरण नगर्ने” भन्दै ८१ जनाकाे नाम सार्वजनिक गर्नुभयाे । जहाँ २४ नम्वरमा मेराे पनि नाम थियाे । केही दिनपछि अर्कै एकजना पत्रकार मित्रले “पत्रकार महासंघ झापाले शुद्धिकरणका लागि तयार गरेकाे अन्तिम नामावली भनेर ६४ जनाकाे नाम सार्वजनिक गर्नुभयाे । जहाँ मेराे नाम १२ नम्वरमा रहेछ ।
पहिलाे पाेष्टका विषयमा नेपाल पत्रकार महासंघले आफ्नाे मुख खाेल्याे र धारणा सार्वजनिक गर्याे । प्रेस विज्ञप्ति जारी गर्दै यसमा सत्यता नरहेकाे स्पष्ट पार्याे । साँच्चै गलत थियाे, सत्यता थिएन भने, ८१ जना झापाली पत्रकारहरूकाे मानमर्दन हुने गरेर उहाँहरूकाे प्रतिष्ठामै आँच आउने गरी सामाजिक सञ्जालमा उहाले किन पाेष्ट गर्नुभयाे ? अनि प्रेस विज्ञप्ति जारी गर्दैमा महासंघकाे दायित्व पुरा भयाे र ? जे हाेस दाेस्राेमा अझै माैन देखिएकाे पत्रकार महासंघ झापा शाखाले पहिलाे पाेस्टमा विज्ञप्तिसम्म जारी गरेर औपचारिकता त पुरा गर्याे । यी दुबै पाेष्ट गलत हाे भने कहाँबाट गलत भयाे खाेज्ने काम कस्काे ? याे कुरा कहाँबाट चुहिँयाे प्वाल कहाँ छ पत्रकार महासंघले खाेज्ने कि न खाेज्ने ? झापाली पत्रकारहरूकाे हुर्मत काढ्ने गरी उहाँहरूलाई याे नाम सावर्जनिक गर्न कस्ले अनुमति दियाे ?
याे विषयमा उहाँहरूले बाेल्न पर्छ कि पर्दैन ? यस्ता थुप्रै प्रश्न अहिले मेराे मानसपटलमा उब्जिएका छन् । जवाफ कहाँ खाेज्ने थाहा छैन् । कि त सदस्य शुद्धिकरणका लागि गठित कार्यदलले १५ वटा बुँदामा रहेर सत्य तथ्य र पारदर्शीरूपमा काे कुन संघकाे ? काे आफ्नाे, काे अरूकाे ? नभनी नेपाल पत्रकार महासंघ झापा शाखालाई प्रतिवेदन बुझाउनु पर्याे । हाेईन भने जताभावीरूपमा पत्रकारहरूकाे नाम सावर्जनिक भएकाे विषयमा सत्यतथ्य छानबिन गर्नुपर्याे । नत्र नाम मात्रकाे कार्यदल तत्काल विघटन गर्दिए हुन्छ ।
झापामा पत्रकारहरूकाे संख्या कति छ र साच्चै पत्रकारिता गरेरै वा मुल पेशा पत्रकारिता बनाउनेकाे संख्या कति छ त ? सवै याे विषयमा जानकार हुनुहुन्छ । पत्रकारिता वा अक्षरकै खेती गरेर बाच्न सकिन्दैँन् भन्ने कुरामा तपाई हामी सबै जानकार छाै । शायद त्यही भएर कसैले गैरसरकारी संस्था चलाउन बाँध्य हुनुहुन्छ त काेहि सरकारी त काेहि निजी शिक्षण संस्थामा कार्यरत हुनुहुन्छ । काेहि साँगितीक कार्यक्रम सञ्चालक, काेहि साहित्य अनि काेही विभिन्न तालिम प्रशिक्षक पनि । काेहि कहि कतै न कतै अल्झिए पनि पत्रकारितालाई संगसँगै अघि बढाउनु भएकाे छ ।
यसकाे मतलव पत्रकारितामै मात्र काेहि हुनुहुन्न भन्ने हाेईन् । त्यस्ता साथीभाइहरू पनि हुनुहुन्छ । झापामा साच्चै शुद्धिकरण गर्ने हाे भने कति सदस्य हाेला याे नेपाल पत्रकार महासंघ झापा शाखा । पत्रकारिता संख्यात्मक हाेईन् । गुणात्मक हुनुपर्छ । मलाई लाग्छ पत्रकारिता गर्ने काे कहाँ के जागीर खान्छ भन्ने हाेईन उस्काे सक्रियता, गुणस्तर र पत्रकारिताका आचारसंहिताभित्र उ कति ईमान्दार छ त्याे खाेज्ने कि ? जस जस्काे नाम फेसबुकमा शुद्धिकरणमा परेकाे भनेर भनियाे त्यो सहि हाेस कि गलत त्यसलाई छाडाैँ । तर, ती नाम पत्रकारितामा कति सक्रिय छन् त्यसलाई नहेर्ने हने भने उनीहरू माथि अन्याय ठहर्छ ।
अब आफ्नै कुरा : म शुद्धिकरणकाे पक्षमा हाे । याे अभियानकाे स्वागत गर्दछु । २०५८ सालकाे अन्त्यतिर फाट्टफुट्ट लेख्दै गर्दा २०५९ साल वैशाख २१ गते प्रेस चाैतारी नेपाल झापा शाखाले आयाेजना गरेकाे आधारभूत पत्रकारिता प्रशिक्षणमा सहभागी हुने अवसर मिल्याे । प्रमुख प्रशिक्षक प्रेस चाैतारी नेपालका तात्कालिन केन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा हुनुहुन्याे । त्याे तालिम लिए पनि थाेरै पत्रकारिता बुझेँ र लेख्ने कर्मलाई निरन्तरता दिन थाले । लेख्ने कर्मले निरन्तरता पाएपछि २०६१ साल मंसिर १० गते नेपाल पत्रकार महासंघकाे साधारण सदस्य प्राप्त गरे । मेराे सदस्य नम्वर ६० हाे । त्याे बेलादेखि याे बेलासम्म आईपुग्दा झापाबाट प्रकाशित हुने दैनिकदेखि साप्ताहिक छापा माध्यममा मेरा समाचार छापिए । झापाका अग्रज पत्रकार आदरणीय नकुल काजी प्रधान सम्पादक रहनु भएकाे विवेचना दैनिकमा समाचारदातादेखि संवाददाताहुदैँ उपसम्पादक र व्यवस्थापककाे भूमिका निर्वाह गरे । पूर्वाञ्चल, प्रतिदिन, पूर्व सन्देश, तहल्का दैनिकमा कर्म गरे । मैले वैकल्पिक पेशाकारूपमा पत्रकारिता पेशा राेजेकाे हाेईन् । जुनदेखि शुरू गरे पत्रकारिताबाटै गरे ।
नेपाल पत्रकार महासंघ झापा शाखाकाे २०७० साल फागुन ५ गते सम्पन्न निर्वाचनमा महासंघकाे विधान २०६० काे दफा १४ तथा निर्वाचन निर्देशिका २०६४ काे दाेस्राे संशाेधन २०७० बमाेजिम म सभासादमा निर्वाचित भए । पछि एफएम मेची टियून्स ९६.८ मा रेडियाे कार्यक्रम देखि सूर्याेदय टेलिभिजनमा कार्यक्रम प्रस्ताेताका रूपमा रहेर हालसम्म पत्रकारिता पेशालाई मर्यादितरूपमा अघि बढाउँदैछु ।
हब डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित न्युज पाेर्टल मेराे मेचीनगर डट कममा सम्पादककाे जिम्मेवारी बहन गर्दैछु । आजका मितिसम्म वा २०८० साल जेठ २९ गतेसम्म मेराे समाचार छापिएका छन् । बाँकी रह्याे मेराे सदस्यता नविकरण गर्ने कि नगर्ने भन्ने । मैले लाग्ने दस्तुर बुझाएर नियमितरूपमा सदस्यता नविकरण गरिरहेकाे छु । मैले २०८० सालसम्मकाे सदस्यता नविकरण गरिसकेकाे छु । भलै भोलि रद्द पनि हाेला । अहिले जसरी पत्रकारितालाई अघि बढाउँदैछु र आय आर्जन गरिरहेकाे छु वा पत्रकारिताबाट प्राप्त आम्दानीले मेराे परिवार धान्न मुश्किल पर्छ ।
त्यसैले मैले पत्रकारिता पेशालाई मुख्य कर्म बनाएर अघि बढ्दै जादाँ कहिँ कतै राेजगारकाे अवसर प्राप्त गरेपछि सामान्य पारिश्रमिक प्राप्त गर्न थाले । जस्का कारण मेराे घर चलाउँन राहत मिल्याे । अहिले पनि माेफसलबाट सञ्चालित सञ्चारमाध्यमबाट मात्र हाेईन् देशकै ठुल्ठुला शहरबाट सञ्चालनमा आएका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूले तलब नपाएर अनसन, धर्ना समेत बस्नुपरेका घटना थुप्रै छन् । मुल पेशा पत्रकारिता बनाएका थुप्रै सञ्चारकर्मीहरूले विकल्पकारूपमा अन्य पेशा राेजे, धेरै विदेशिए । कारण थियाे पत्रकारिताबाटमात्र गुजरा नचल्नु । अहिले जाे जुन जुन कर्ममा रहेर पनि अनुशासित, मर्यादितरूपमा पत्रकारिता गर्दै हुनुहुन्छ उहाँहरू त धन्यवादकाे पात्र हुनुहुन्छ । कम से कम उहाँहरूले पत्रकारिता त छाड्नु भएन् । यसकारण शुद्धिकरण त गराै तर, कसरी गर्ने त्यस विषयमा पनि साेच्ने कि ?

























