साउने सोमबारको व्रत आज देखि सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असार, काठमाडौँ : चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आज देखि व्रत सुरु भएको हो ।

यस वर्ष साउन महिनामा अधिकमास परेको र चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने पात्रोमा उल्लेख गरिएको छ । त्यसैले असार अन्तिमको सोमबारबाटै व्रत बस्न सुरु गरिएको हो । समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबारमा व्रत लिनुपर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो । साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।

चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताउनुभयो ।

साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो ।

चान्द्रमास अनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

साउन महिनाभरी नेपालको प्रमुख शिव मन्दिरहरु काठमाडौँको पशुपतिनाथ, सुनसरीको पिण्डेश्वर बाबाधाम, झापाको अर्जुनधारा जलेश्वर धाम लगायतका धार्मिक स्थलहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.