१३ साउन, मेचीनगरः भन्सार छलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको ना २ ख ४९०२ नम्बरको कन्टेनर गैरकानुनीरुपमा भन्सार परिसरबाट नबाहिरीएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले शुक्रवार साँझ काँकरभिट्टाको पुरानो भन्सार क्षेत्रबाट एक करोड २० हजारभन्दा बढी मूल्यको सामान कर नतिरी भित्रिएको भन्दै एउटा कन्टेनरसहित नियन्त्रणमा लिएको थियो ।
भन्सार कार्यालयले उक्त कन्टेनर भन्सार परिसरबाट बाहिरिएको र सरकारी नियम कानुन अनुसार लाग्ने सवै राजस्व बुझाएको जनाएको छ । निमित्त प्रमुख भन्सार अधिकृत पुर्णप्रसाद लम्सालका अनुसार यसमा भन्सारतर्फबाट कुनै कमिकमजोरी भएको छैन् । उहाँका अनुसार आयातकर्ताको बिल बिजक हेर्दा ३ लाख १७ हजार ५ सय ४४ भारतीय रुपैयाँ मुल्य बराबरका १ हजार ४ सय ७७ किलो विभिन्न सामान रहेको छ ।
सावुन, ब्लाक सुप, हुक्काको कोल, बौद्धमार्गीले बाद्यबादनको रुपमा प्रयोग गर्ने झ्याम्टालगायतका सामान रहेको भन्सारको अभिलेखले देखाएको छ । सो वापत १ लाख ५६ हजार ७ सय ९० रुपैयाँ भन्सार महशुल बुझाएको तथा कन्टेनरको एक्जीट साँझ ५ बजेर ५५ मिनेट छ ।
प्रज्ञापन पत्र नम्बर १००८५ अनुसार आयतकर्ताले राजस्व जम्मा गरेको निमित्त भन्सार प्रमुख लम्सालले जानकारी दिनुभयो । भन्सार एजेन्ट नम्बर १०७८ धकेन्द्र कार्की भद्रपुर—४ झापाको स्वाभिमान सन्स एण्ड सप्लायर्सबाट काँकरभिट्टा अन्तिम विन्दु गन्तव्य राखेर आयातकर्ता सन्तोष खवासले उक्त सामान ल्याएको भन्सारले जनाएको छ । ‘हामीले आयातकर्ताको बिलबिजक अनुसार जाँचपास गरेका छौ’ निमित्त प्रमुख भन्सार अधिकृत लम्सालले भन्नुभयो—बिलबिजकमा उल्लेख भएका सामान दुरुस्त भएका कारण सरकारी नियम अनुसारको राजस्व लिएर कानुनीरुपमा कन्टेनर पठाएका हौँ ।’ ती सामान भन्सारका जाचकी (निरीक्षक) प्रेमबहादुर लामाले चेकजाँच गरेको र भन्सार अधिकृत सरीता ताम्राकारले रुजु गरी प्रमाणित गरेपछि बाहिरिएको भन्सार अधिकारीहरु बताउँछन् । भन्सार परिसरबाट कन्टेनर बाहिरीदा कानुनी प्रक्रिया पुरा गरेरै बाहिरिएको भन्सारले जनाएको छ ।
आयातकर्ताले गन्तव्य काँकरभिट्टासम्म उल्लेख गरेका कारण ती सामान काँकरभिट्टासम्म लैजान पाउने उहाँको भनाई छ । भन्सार चेकजाँच सकेर प्रक्रियागतरुपमा बाहिरिए पछि कहाँ कहाँबाट के के सामान लोड अनलोड हुन्छ भन्सारलाई थाहा नहुने कार्यालयको भनाई छ । तर, अहिले हल्ला आए जस्तो भन्सार नाकाबाटै राजस्व छलेर कन्टेनर बाहिरिएको भन्ने कुरामा कुनै सत्यता नभएको निमित्त प्रमुख भन्सार अधिकृत लम्सालको दावी छ । उहाँले प्रमाणकालागि कार्यालयको सिसि क्यामराका फूटेजहरु रहेको बताउँनुभएको छ ।
भन्सारले प्रज्ञापन पत्रमा उल्लेख भएको गन्तव्यसम्म लैजान दिने र त्यसपछि ट्रान्सपोर्टमार्फत सामान पठाउनु परे आयातकर्तार्ल भ्याट बील काटेर ट्रान्सपोर्टलाई दिने र ट्रान्सपोर्टले भिसिटिएस गरेर अन्तिम गन्तव्यसम्म सामान पठाउने भन्सार अधिकारीहरुको भनाई छ । आयातकर्ताले मेचीनगर—६ काँकरभिट्टा पुरानो भन्सारमा रहेको लक्ष्मी ट्रान्सपोर्टलाई समान जिम्मा दिइएको बताइएको छ ।
आवश्यक अनुसन्धानका लागि इटहरीको राजस्व अनुसन्धान कार्यालयमा कन्टेनरसहित सामान बुझाइएको र त्यसको सत्य तथ्य अनुसन्धानमा भन्सारको पनि सहयोगी भूमिका हुने निमित्त प्रमुख भन्सार अधिकृत लम्सालको भनाई छ । ‘घटनाको वास्तविकता के हो भन्ने कुरा अनुसन्धानले देखाउँला तर, भन्सारका कर्मचारीले पटक पटक चेकजाँच गरी सवै ठीक पाए पछिमात्र लाग्ने राजस्व लिएर सामान पठाइएको छ’ निमित्त प्रमुख भन्सार अधिकृत लम्सालले भन्नुभयो । भन्सारको कमजोरी नभएको, भन्सारको कमजोरी प्रमाणित भए सजायको भागी बन्ने उहाँले उदघोष गर्नुभयो ।
उता आयातकर्ता सन्तोष खवास भन्सारले मुल्याङ्क गरेको आधारमा राजस्व बुझाएर सामान आयात गर्दा गैरकानुनी र राजस्व छली नहुने दाबी गर्नुहुन्छ । ‘१ लाख रुपैयाँभन्दा बढी राजस्व सरकारलाई तिरेको छु अनि कसरी भन्सार छली भयो’ उहाँले प्रश्न गर्दै बजारमा आएको हल्ला सत्य नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो—‘मैले प्रज्ञापन पत्रमै उल्लेख गरेको छु मेरो गन्तव्य काँकरभिट्टा भनेर, काँकरभिट्टा ल्याएर लक्ष्मी ट्रान्सपोर्टलाई जिम्मा दिएको हुँ । हामी ट्रान्सपोर्टलाई दिने बिलबिजकलगायतको प्रक्रियामा थियौँ । प्रज्ञापन पत्रमा उल्लेख भएर अनुसार काँकरभिट्टाभरि त सामान लैजान पाइन्छ ।’ अनुसन्धानको लागि नियन्त्रणमा लिनु नराम्रो होइन, म सँग सवै प्रमाण छ, त्यसकारण मेरो कमजोरी छैन् । ‘एक्जीट कोर्ड र बार कोर्ड काँकरभिट्टाका प्रहरी प्रमुखसँगै थियो । त्यो हेर्दा प्रष्टै हुन्थयो कन्टेर गैरकानुनी रुपले कि कानुनी रुपले भन्सार परिसरबाट बाहिरियो भन्ने उहाँले त्यो हेर्नु भएन र इटहरी पठाईदिनुभयो ’ खवासले भन्नुभयो ।
हेर्नुहाेस् मेची भन्सारकाे विज्ञप्ति :


























