इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति १२ बजेदेखि धरान प्रवेशमा निषेधाज्ञा गर्ने जनाएसँगै बिहानैदेखि धरान जाने सवारी साधन फर्काइएको छ । बाक्लो मात्रामा प्रहरी परिचालन गर्दै धरान आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो ।
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रहरी कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको टोली परिचालन गरेको छ ।
इटहरीतर्फबाट धरान जाने क्रममा इटहरी २० स्थित तरहराको पानीपियामै सवारी साधन रोकिएको छ । प्रहरीले सबै सवारी साधनलाई तरहराबाटै फर्काएको जनाएको छ ।
प्रशासनकाअनुसार धरान प्रवेश गर्ने पश्चिमतर्फको बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनीको –६ देखि बराहक्षेत्र–३ नडाहातर्फको क्षेत्र, इटहरी–२० तरहराको पानीपियादेखिको उत्तरतर्फको क्षेत्र, धरान ५ प्रवेश गर्ने मोरङको केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारतर्फबाट धरानतर्फको क्षेत्रमा निषेध गरिएको छ ।
पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दू पक्षधरहरूबीच आरोप, प्रत्यारोप सुरु भएसँगै भदौ ९ गते आज हिन्दुवादीहरूले शान्तिपूर्ण ¥याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको थियो ।
तर, शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानलाई २४ घण्टाका लागि निषेधाज्ञा गर्ने निर्णय गरेकी थिइन् । धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले शउक्त आदेश लागू गर्न जनाइएको छ । आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।
हिन्दु धर्मावलम्बीहरूले बिहान ९ बजे इटहरीमा भेला भएर धरान पुग्ने बुझिएपनि आँफूहरूले समन्वय गरिरहेको उनले बताए ।
धरानमा पछिल्लो समय गोवध प्रकरण र धरान उपमहानगरपालिकास्थित मन्दिरकै छेउमा निर्मित चर्च काण्डबारे शनिबार (आज) विरोध गरिने कार्यक्रम तय थियो ।
श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते ‘गोरक्षा शान्ति ¥याली’ आयोजना गर्ने तयारीमा जुटेका थिए ।

























