मेचीनगरमा शुरु भयो जग्गाको निस्सा वितरण कार्य, पहिलो दिन चारवटा वडामा निस्सा वितरण

२५ मंसिर, मेचीनगरः झापाको मेचीनगर नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ । पहिलो दिन वडानम्बर १, २, ३ र ४ ‐साविक बाहुण्डाागी गाविस) मा बासोबास रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो । नगरपालिकामा प्राप्त निवेदनहरुलाई झण्डै १८ महिनाको अवधिमा कम्प्युटरमा दर्ता गरी निस्सा वितरणको काम शुरु गरेको हो ।

सोमबार नगरपालिकाको वडानम्बर —३ का अर्जुन राईलाई पहिलो निस्सा प्रदान गरेर कार्यक्रमको शुरु भएको छ । वडा कार्यालय परिसरमा आयोजित भूमिहीन दलित भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको निवेदन दर्ताको निस्सा वितरण कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा राईसहित देबी राई चन्द्रकुमार फूयाँल र डिल्लीराम राईलाई निवेदन दर्ताको निस्सा प्रदान गर्नुभएको थियो ।

नगरका १५ वटा वडामा ३ सय ७ जना भूमिहिन दलित, १ हजार ८ सय १४ भूमिहिन सुकुम्वासी र ३ हजार ३० जना अव्यवस्थित बसोवासी गरी कुल ५ हजार १ सय ५१ जना छन् । वडानम्बर ३ मा मात्र ४५ जना भूमिहिन दलित, ८६ जना भूमिहिन सुकुम्वासी र १ सय ९६ जना अव्यवस्थित बसोवासी गरी कुल ५ सय १९ जना रहेका छन् । बाकीलाई वडा कार्यालयले क्रमस निस्सा वितरण गर्ने योजना रहेको छ । यसैगरी, वडानम्बर २ को वडा कार्यालयमा आयोजित कार्यक्रममा कमला विक, अतिमाया विकलाई भूमिहिन दलितको निस्सा प्रदान गर्दै कार्यक्रम शुरुवात भएको छ ।

वडानम्बर २ मा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या २ सय ६३ जना रहेको छ । वडामा भूमिहिन दलित ११, भूमिहिन सुकुम्बासी १२ अव्यवस्थित बसोबासीको संख्या २ सय ४० रहेको वडाले जनाएको छ ।

लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासी, भुमिहिन दलितलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाको सहकार्यमा निस्सा वितरण गरेको हो । मेचीनगर नगरपालिकामा रहेका र हालसम्म निवेदन पेस गरेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको निवेदन दर्ताको निस्सा वितरण गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

वडानम्बर १ र ४ मा पनि निस्सा वितरण कार्य शुरु भएको छ । वडानम्बर १ मा भूमिहीन दलित ८, भूमिहीन सुकुम्वासी २० र अव्यवस्थित बसोवासी १ सय १९ गरी कुल १ सय ४७ जना रहेका छन् । वडानम्बर ४ मा भूमिहीन दलित ३, भूमिहीन सुकुम्वासी २४ र अव्यवस्थित बसोवासी १ सय ९६ गरी कुल २ सय २३ जनाको निस्सा प्रिन्ट भएको छ । पहिलो दिन नगर प्रमुख उपप्रमुखसहितको टोलीले निस्सा वितरण गरेको र अब देखि वडा कार्यालयमा पुगेर निस्सा प्राप्त गर्न सकिने छ ।

निस्सा वितरण पछि सवै काम सम्पन्न भएपछि छिट्टै नै उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ । ‘पहिलो चरणमा नगरपालिकामा सबै प्रक्रिया पुगेकाले निस्सा वितरण सुरु गरेका हौं’ उपप्रमुख मीना पोखरेल उप्रेतीले भन्नुभयो– ‘पुर्जा वितरणका लागि नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’ सोमबारबाट शुरु यो वितरण कार्य मंसिर २९ गतेसम्म चल्ने छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य हृदय राजवंशी, अमित खम्बु, सम्बन्धित वडाका वडाध्यक्ष, वडा सदस्य, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीसहित भुमिका कर्मचारीहरुलगायतको उपस्थितिमा निस्सा वितरण गरिएको थियो । वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, २ नम्बर वडा सदस्य सीतादेवि तिम्सीना मोते, १ नम्बर वडा सदस्य तथा कार्यपालिका सदस्य तिलजा देवानले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व सम्बन्धित वडाका वडाध्यक्षहरुले गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.