काठमाडौ । नेपाल यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटको सेमिफाइल दौडबाट बाहिरिएको छ ।
मंगलबार(आज) भारतसँगको खेलमा १० विकेटको हार बेहोरेसँगै नेपालको सेमिफाइनल दौडबाट बाहिरिएको हो । यो जितपछि भारतको सेमिफाइनल सम्भावना भने बलियो बनेको छ ।
आफ्नो तेस्रो खेलमा नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा बिनाविकेट पूरा गर्यो । उसका लागि अर्शिन कुलकर्णीले ४३ र आदर्श सिंहले अविजित १३ रन बनाए ।
त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो । नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
नेपाल पहिलो र दोस्रो खेलमा क्रमशः पाकिस्तानसँग ७ विकेट तथा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । यस्तै, भारतले अफगानिस्तानलाई ७ विकेटले हराउँदा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो ।

























