१६ असोज, झापा : दशैं केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्व छन् । सामाजिक महत्व छन्, जसले समाजलाई एकसूत्रमा जोड्छ । धार्मिक महत्व छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्व छ, जसले लत्ताकपडादेखि खाद्यन्नसम्मको बजार उत्कर्षमा पुर्याउँछ । भावनात्मक महत्व छ, जसले टाढा-टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपुर्याउँछ ।
दशैं, सद्भावको पर्व हो । एकताको पर्व हो । समग्रमा यो हाम्रो जीवन पद्दतीको एउटा हिस्सा हो ।
घटस्थापना देखि दसैँको विधिवत सुरुवात हुन्छ । घटस्थापनाको दशौं दिनमा टीका । अर्थात आफन्त, गन्यमान्यबाट टीका थाप्ने दिन । यसलाई विजय दशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो । असत्यमाथि सत्यको विजय ।
दशैं सुरुभएदेखि हरेक दिनको आ-आफ्नै महत्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । हाम्रो जीवन पद्दतिलाई सुखदायी, प्रेममय बनाउने सूत्र पनि छ यसमा । दशैं-संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर हाँस्न र बाँच्न प्रेरित गर्छ, संयमित र सन्तुलित जीवन ।
बडादसैँ पर्वको सातौं दिन आज फूलपाती पर्व परेको छ । यस वर्षको २०७९ सालको बडादसैँको फूलपाती भित्राउने साइत श्री तलुजाभवानी यात्रा बिहान १०:०५ बजे रहेको छ भने स्थिरासन ११:३५ बजे रहेको छ ।
‘अनि घर कहिले आउने त ?’ यो प्रश्न दसैँको पूर्वसन्ध्यामा खुब सोधिन्छ । हामीहरूमध्ये धेरै फूलपातीका दिन आइपुग्छु भन्ने धेरै हुन्छौं । यस दिनबाट बिदा शुरु हुन्छ । अनि यस दिनबाट चाहिँ दसैँको चाडबाडको मस्ती पनि शुरु हुन्छ ।
पोहोर साल कोरोना भाइरस त्रासले दसैँलाई एकलास बनाएको थियो । यस वर्ष अलिक खुकुलो हुँदै छ । फूलपातीको शुभकामना ।
कोसेलीपात अनि दसैँको उपहारका किनमेलहरू भए त ? बैङ्कले नयाँ छापेको नोटहरू दसँैमा टिकाटालोका लागि काठमाडौंबाट आफ्नो थातथलो जानेले लगिदिने चलन पनि छ हैन त ? जे होस्, दसैँले कहिले नयाँ लुगाको बहानामा त कहिले घोर्ले खसी–बोकाको बहानामा, कहिले घर जाने रौनक त कहिले देशका हरेकजसो स्थानमा प्रमुख दुर्गा भवानीका मठ–मन्दिरहरूमा नौरथा (नवरात्री) अवधिभर लाग्ने मेलाले सबैको जीवनमा रङ्ग र उत्साह छरेको छ, कि कसो ?
अझै यो वर्ष पनि कोरोना महामारी विश्वबाट विदा भइसकेको छैन । त्यसो हुँदा अझै महान चाड मनाईरहँदा सचेत अनि सावधान हुनुपर्ने अवस्था भने पक्कै छ ।
कतिजना भने परदेशमा गएको वर्षको दसँै सम्झना गर्दै बसिरहनुभएको पनि होला । औँला भाँच्दै कति वर्षदेखि दसैँमा घर जान नपाएको र अब कति वर्ष या महिनापछि घर जाने भनेर पनि बस्नुभएको कति प्रवासी नेपाली हुनुहुन्छ ? यो दसैँमा घर आउन नपाए पनि के भयो र । अर्को दसैँया अर्को वर्ष तपाइले स्वदेशी माटोमा पाइला राख्न अवश्य आउनुहुनेछ, कि कसो ?
आज सबै जनालाई हाम्रो पात्रोमार्फत् नवरात्रिको सातौं दिन फूलपाती सम्बन्धमा विशेष यी शब्द सामाग्रीहरू लगायत गाउँबेसीका यादहरू बोकेर आईयो है साथीहरू ।
सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ । कृष्णवर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पुर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन् ।
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारका फूलपात समिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।
आजको यस विशेष सातौं दिन दुर्गाको सातौँ स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

कसरी मनाइन्छ फूलपाती ?
आज सप्तमी । अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ ।
घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।
केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्चचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।
यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोका भित्र्याइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरसका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्कारका साथ फूलपाती ल्याउने गरिन्छ ।
भनिन्छ, टुक्रे राज्यको रुपमा रहेको नेपाल एकिकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरुमा पुर्याउने गरिन्थ्यो । काठमाडौंको हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती धदिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।
























