अस्ट्रेलिया सरकारले आपतकालीन साहायता स्वरूप नेपाललाई ७० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ।
नेपालमा कोभिड-१९ को माहामारीबाट बच्न आवश्यक उपकरण खरिदका लागि भन्दै उक्त रकम संयुक्त राष्ट्रसङ्घ तथा अन्य गैर-सरकारी संस्थामार्फत दिइने अस्ट्रेलियाली सरकारले बताएको हो।
कोरोनाद्वारा अतिनै प्रभावित भारतसँगको सीमावर्ती क्षेत्रका नेपाली अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री, पीपीई, कोभिड-१९ परीक्षण किट र स्वास्थ्यकर्मीलाई तालिम अस्ट्रेलियाले दिदै आइरहेकोसमेत अस्ट्रेलियन सरकारले स्पष्ट पारेको छ।
पछिल्लो कोरोना माहामारीसँग लड्न नेपालसँगै बङ्गलादेश र श्रीलङ्कालाई समेत सहयोग गरिने यहाँको सरकारले बताएको छ।
अस्ट्रेलियाकी परराष्ट्र मामिलासम्बन्धी मन्त्री मरिस् पेअनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय महासागरको उत्तर पूर्वी क्षेत्रका नेपाललगायतका मुलुकहरूलाई सहयोग गर्न आफूहरु कटिबद्ध रहेको बताएकी छन्।
गत महीना फिर्ता बोलाईएका राजदूत महेशराज दाहालले अस्ट्रेलियन सरकारका प्रतिनिधिसँग भेंटी सहयोगको अपील गरेका थिए।
त्यस लगत्तै नेपाली समुदायका अगुवाहरू मन केसी, दीपक खड्का, कृष्ण हमाललगायतले प्रभावशाली मन्त्री डेभिड कोलम्यानलाई भेटेर तत्काल सहयोगको माग गरेका थिए।
त्यसैगरी अमेरिकाले नेपाललाई कोभिडविरूद्ध चाहिने स्वास्थ्य सामग्री तीन वटा जहाजमा पठाउदैछ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले एक ट्वीट गर्दै भने- नेपालको अवस्थालाई द्रुत गतिमा सम्बोधन गर्न मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई तीन वटा जहाजमा सामान पठाउने भएको छ।
अमेरिकी सहयोग नियोग युएसएडले बिहीबार सर्जिकल मास्क, फेससिल्ड, पञ्जालगायत स्वास्थ्यकर्मीलाई चाहिने अन्य आवश्यक सामग्री पठाउन लागेको जानकारी दिएको छ।
तीन वटा जहाजमध्ये पहिलो जहाज काठमाडौंका लागि उडिसकेको छ। उक्त जहाज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने समय तालिका छ।
गएका तीन सातामा नेपाललाई १ करोड ५० लाख डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको युएसएडले जनाएको छ।
























