दाङमा कुखुराको भाले मरेपछी गए मलामी,मालिकले गरे केश मुण्डन

A notice in Nepali from Mechinagar Ward No. 10

दाङ । दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन् । तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन् ।

‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते म¥यो,’ सुवेदीले भने, ‘त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार ग¥यौँ ।’ भाले मरेपछि मानिसको मृत्युजस्तै गरी गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पु¥याएका थिए । ‘गाउँलेहरूले जलाउन आवश्यक पर्ने काठ पनि लिएर आउनुभएको थियो?’ सुवेदीले भने, ‘भालेलाई जलाएर सकेपछि हिन्दु परम्परा अनुसार मैले खोलामै कपाल पनि मुण्डन गरेको हो ।’ धेरै लामो समयसम्म पालेको भालेलाई परिवारको सदस्यजस्तै मानेर आफू र गाउँलेले त्यसको मृत्यु पछि शोक मनाएको सुवेदीले बताए । ‘धेरै लामो समयसम्म पालेको हुँदा भाले परिवारको सदस्यजस्तै थियो,’ सुवेदीले भने, ‘त्यसैले त्यसलाई काटेर खाने कुरा सोच्नै सकेनौं ।’ भाले मरेपछि आफूलाई निकै दुःख लागेकाले भालेको सम्मानका लागि हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरेको उनले बताए ।

‘दाहसंस्कार गर्ने समयमा ममात्रै होइन, गाउँका अरू दुई–तीन जना मानिसहरूको पनि आँशु खसेको थियो,’ सुवेदीले भने । अचेल चिनजानका मानिसहरूले मान्छे मरेको घरमा परम्परागत रूपमा चल्दै आएको ‘मानो मिसाउने’ कार्यक्रम छ कि छैन ? भनेर सुवेदीलाई सोध्दै आएका छन् । ‘धेरैले मलाई आजसम्म पनि गाली गर्नुहुन्छ । भाले मरेको खबर पाएको भए हामी पनि मलामी जान्थ्यौँ । किन थाहा नदिएको भनेर रिसाउनुहुन्छ,’ सुवेदीले भने, ‘सम्भावित कोरोना जोखिमका कारण धेरैलाई खबर नगरिएको भनेर मैले जवाफ दिने गरेको छु । कतिपयले आज पनि फोन गरी मानो मिसाउने कार्यक्रम छ कि छैन भनेर सोध्नुहुन्छ । मैले छैन भन्दै आएको छु ।’ मानिस सबैभन्दा बुद्धिमान प्राणी भएकाले आफूले पालेका पशुपंक्षी र जीवजन्तुलाई माया तथा सम्मान गर्नु सकारात्मक कुरा भएको सुवेदीको तर्क छ । ‘धेरैले मलाई सकारात्मक कुरा गर्नुभएको छ,’ सुवेदीले भने, ‘कतिले भने हावा कुरा र काम नपाएकाहरू भन्ने गरेको सुनेको छु । मान्छेहरूले आफ्नो सोचअनुसार त बोल्ने हुन् । मलाई मैले गरेको काममा सन्तोष छ ।’

घरमै जन्मिएर हुर्किएको भाले २० वर्षसम्म पाल्छु भनेर सुवेदीले कहिल्यै सोचेका थिएनन् । सुरूमा उनले (ब्याड) बेलनका रूपमा उक्त भाले पालेर राखेका थिए । एकाध वर्षपछि आफ्नो बुवाको पेन्सन घरमै पठाएर सहयोग गर्ने घोराहीका शिक्षक डोमकान्त अधिकारीलाई खुवाउन भनेर उनले त्यो भाले जोगाएर राखे । अधिकारी आफ्नो घरमा आउलान् र त्यो भाले काटेर खुवाउँला भन्दाभन्दै ५÷७ वर्ष बित्यो । ‘अधिकारी सरले जहिल्यै भोलि आउँछु भन्नुभयो, तर कहिल्यै आउनुभएन,’ सुवेदीले भने, ‘मैले उहाँलाई बाटो हेर्दाहेर्दा थप ६÷७ वर्ष बित्यो र भाले १४ वर्षको पुग्यो, तर उहाँ आउनुभएन ।’ भाले १४ वर्षको पुगेपछि सुवेदीले पनि उक्त भाले नकाट्ने सोच बनाए । त्यसको पछाडि खास कारण थिएन। तै उनलाई एउटा भाले कति वर्ष बाँच्दो रहेछ? भन्ने कौतोहुलता भयो । त्यसैले अब अधिकारी पाहुनाका रूपमा आए पनि अर्कै भाले खुवाउने सोचमा सुवेदी पुगे । सुवेदीको घरमा अधिकारी कहिल्यै आएनन् ।

त्यसैले गर्दा भाले बाँचिरहन पायो । त्यस्तो गर्दागर्दै भाले १७ वर्षको पुग्यो । युट्युबरहरूले त्यसको सुइँको पाए । भालेको भिडिओ बनाए । त्यसैले १७ वर्षको पुग्दा सामाजिक सञ्जाल भाले भाइरल बन्यो । त्यही बीचमा भालेले ‘टार्जन’ नाम पनि पायो । भालेकै कारण सुवेदी पनि चिनिए । त्यसैले सुवेदीले भालेको बारेमा गिनिज बुक अफ वल्ड रकेर्डमा नाम लेखाउन सकिन्छ कि? भनेर प्रयास पनि गर्न खोजेका थिए । तर, आफूले मेलोमेसो पाउन नकेको सुवेदीले बताए । झन्डै २० वर्षमा सुवेदीले घरमा पालेका थुप्रै कुखुरा जन्मिए, हुर्किए, कति बेचे र कति रोगले मरे । उनीहरूका बारे सुवेदीले खासै वास्ता गरेनन् । तर, घरको सबैभन्दा बुढो भाले भने कहिल्यै रोगले थलिएन । गाउँमा रोग लागेर सबैका कुखुराहरू धेरै पटक स्वाहा भए । असार महिनामा मात्रै सुवेदीले घरमा पालेकामध्ये ४१ वटा कुखुरा रोगले मरे । तर त्यो बुढो भालेलाई रोग लागेन ।

‘त्यो भाले खुर्सानी धेरै खान्थ्यो । सायद उसको रोग प्रतिरोधी क्षमता बढ्यो कि,’ सुवेदीले भने, ‘मैले सुनेको छु, खुर्सानीले एन्टिबायोटिकको काम गर्छ रे !’ गत चैततिर मात्रै उक्त भालेको एउटा आँखा पाक्यो । तुलसीपुर बजारमा गएर सुवेदीले औषधी किनेर ल्याए । उपचार गरे । तर, उसको आँखा निको भएन । एउटा आँखा नदेख्ने नै भयो । धेरै बुढो भइसकेको भाले पछिल्लो समय राम्रोसँग हिँड्न पनि सक्दैनथ्यो । सुवेदी आफैंले त्यसलाई खोरमा भित्र–बाहिर गराउँदै आएका थिए । ‘मैले उसको विशेष निगरानी गर्दै आएको थिएँ,’ सुवेदीले भने ‘खाना खाएको छ कि छैन भनेर मैले त्यसको भोजे पनि छामेर हेर्थे, तर,१६ गते बिहान उठेर हेर्दा भाले मरेको अवस्थामा फेला प¥यो ।’ असारमा ४१ वटा कुखुरा मरेपछि बचेको त्यो एउटै बुढो भाले पनि मरेपछि अब सुवेदीको घरमा एउटा पनि कुखुरा बचेका छैनन् । ‘गाउँ–घरमा बस्ने म भविष्यमा फेरि पनि अवश्य कुखुरा पाल्छु नै,’ सुवेदीले भने, ‘तर, अब त्यति वर्षसम्म भाले पाल्न सम्भव होलाजस्तो मलाई लाग्दैन ।’
(सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.