सुजन प्रधान
१६ साउन, मेचीनगर : झापाको विर्तामोड युनाईटेड फुटबल क्लब ‘दिव्यज्योति काँकरभिट्टा च्याम्पियन कप प्रतियोगिता २०८३ ’ को च्याम्पियन बनेको छ ।

आज झापाकोमेचीनगर–६ स्थित काँकरभिट्टास्थित खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाईनल खेलमा स्पर्धी सशस्त्र प्रहरीको विभागिय टोली एपीएफ क्लब पकलीलाई १ शून्य गोल अन्तरले पराजित गर्दैँ विर्तामोड च्याम्पियन बनेको हो ।विर्तामोडको जीतका लागि जर्सी नम्बर १२ का सुजन विक नायक बने । उनले खेलको म्यान अफ दि म्याचको पुरस्कार समेत जिते । उनलाई म्यान अफ दी म्याचको नगद राशी दुई हजार पाँच सय रुपैयाँसहित ट्रफी कार्यक्रमका प्रमुख अतिथि अतिथिलगायतले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

पहिलो हाफको ३९ ओैँ मिनेटमा जर्सी नम्बर १० का पवन मास्केको पासलाई हेडरमार्फत विकले गोल गरेका थिए । अन्तःत विकको १ गोलको मद्दतले विर्तामोडले उपाधि हात पारेको थियो ।
जीतसँगै विर्तामोडले नगद एक लाख एक हजार एक सय रूपैयाँसहित ट्रफी हात पारेको छ । उपविजेता एपीएफ पकलीले नगद ५० हजार पाँच सय ५० रूपैयाँ र ट्रफीमा चित्त बुझायो ।
विजेता तथा उपविजेता टिमलाई फाइनल प्रतियोतिाका प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङ, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, अतिथिहरु कोशी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशेष चापागाईँलगायतले नगद शील्ड तथा ट्रफी प्रदान गरेका थिए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर) विर्तामोड युनाइटेड फुटबल क्लबका अभिशेक वराल, सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) विर्तामोड युनाइटेड फुटबल क्लबका आशिष चापागाईँ घोषित भए । उनले प्रतियोगिताभरिक व्यक्तिगत चार गोल गरेका थिए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी स्पर्धी सशस्त्र प्रहरीको विभागिय टोली एपीएफ क्लब पकलीका श्याम मुर्मु उदयमान खेलाडी प्रतियोगिता आयोजक काँकरभिट्टा युवा क्लबका राजु दर्जी घोषित भए । सवैलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगिताको फाईनल प्रतियोगिताकै अवसरमा दुईजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो भने, पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । उद्घाटनका क्रममा प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङ, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, गंगालाल गुरुङलगायतले बोलेका थिए । सञ्चारकर्मी भूमिका फियाक लिम्बुले सञ्चालन गरेको प्रतियोगिताको उद्घाटन सत्रमा मानबहादुर तामा तामाङले शब्दमार्फत स्वागत गरेका थिए ।



























