१९ जेठ, काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले खाद्यान्न तथा किराना पसल खोल्न दिनेजस्ता केही प्रावधान खुकुलो पारेर निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको बताउनु भयो ।
यस्तै ललितपुरका सीडीओ ढुण्डिप्रसाद निरौलाले पनि खाद्य र किराना पसल खोल्न र निर्माणका सामाग्री ढुवानी गर्न दिइने ताउनु भयो । ‘यो एक हप्ता कडारुपमा गरिएको निषेधाज्ञाले संक्रमण रोक्न मद्दत गर्यो । अब खाद्य सामाग्रीका पसलहरु बिहान खोल्न दिने गरी १० दिन थप गरिएको छ,’ निरौलाले भन्नु भयो ।
शैक्षिक संस्था, सार्वजनिक निजी सवारी तथा भोज, सभा समारोहजस्ता धेरै मानिस जम्मा हुने स्थललाई बन्द गर्ने निर्णय यथावत राखिएको छ । घरमै वा बसेको स्थानमा ७ जनासम्म जम्मा भई विवाह ब्रतबन्ध गर्न पाइने छ । सरकारले तोकेका मापदण्ड पालना गरि कृषिको काम गर्न भने छुट दिइएको छ । अत्यावश्यकबाहेक सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा कार्यालयहरु बन्द रहने छन् । वाणिज्य बैंकहरुले भने प्रधान कार्यालयबाहेक काठमाडौंमा तीनवटा शाखा कार्यालयमात्र खोल्न पाउनेछन् । संचारकर्मीलाई सूचना विभागको पास वा जिल्ला प्रशासनबाट जारी गरिएको पासका आधारमा आवतजावत गर्न दिइने आदेशमा उल्लेख गरिएको छ । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ सम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।




























