२ जेठ, मेचीनगर : झापाका एकजना किसानले यही वर्ष (चालु सिजन) खरबुजाबाट पाँचलाख र बोडीबाट दुईलाख रुपैयाँ आम्दानी गरेका छन् ।
मेचीनगर —०६ काँकरभिट्टाका किसान ५१ वर्षीय प्रकाश थापाले आफैले उत्पादन गरेको खरबुजा र बोडी बिक्री गरेर करिब सातलाख रुपैयाँबढि आम्दानी गरेका हुन् ।
मेचीनगर —७ मा एकजना व्यक्तिको १७ कठ्ठा जग्गा वार्षिक ४० हजार रुपैयाँमा भाडा लिएर खरबुजासहित अन्य तरकारी खेती गदैं आएका प्रकाशले गत फागुनदेखि बैशाखमहिनासम्म आईपुग्दा ५ लाख रुपैयाँ मूल्यको खरबुजा विक्री गरेको बताए । प्रचण्ड गर्मीका बखत खरबुजा बिक्रीबाट दैनिक ३० हजार रुपैयाँसम्म कमाउँने उनको भनाई छ ।

गर्मी बढेसँगै झापाका विभिन्न बजारमा खरबुजाको व्यापार बढेको छ । गर्मीयामभर खरबुजाको व्यापार राम्रो हुने प्रकाश बताउँछन् । ‘ गर्मीको समयमा अत्याधिक विक्री हुन्छ ’उनले भने —‘जाडो समयमा विक्री गर्न निक्कै गाहे हुन्छ ।’ गर्मीयाम बढेसँगै उनलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ छ ।
आफ्नै दुईवटा गाडी छन् प्रकाशका । त्यही गाडीमा खरबुजा हालेर उनले गाउँघर तथा बजारका चोक चोकमा पुर्याउने गरेका छन् । गाउँघरबाट उनकोमा खरबुजा खरीद गर्न आउनेको पनि भीड ठूलो छ । एउटा गाडी लिएर छोरा र अर्काे गाडी आफुले लिएर शहर बजार पस्ने उनको भनाई छ । बगरखेतमा उत्पादित खरबुजा ती गाडीमा राखेर झापाको मेचीनगरका मुख्यः बजार काँकरभिट्टा, इटाभट्टा, धुलावारी धाइजन चारआलीबजार आसपासका क्षेत्रमा बिक्री गरी रहेका छन् ।
अहिले खरबुजा प्रतिकेजी ४०—५० रुपैयाँमा बिक्री भईरहेको छ । उनको बारी वा घरमा आएर खरीद गर्न चाहे प्रतिकेजी ३० —३५ रुपैयाँ लिने उनले बताए । गाउँ गाउँबाट सर्वसाधारणले उनको घरबाट खरबुजा किनेर लैजाने गरेका छन् । उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको छ ।

लामो समयदेखि मेचीनगरमा जग्गा भाडामा लिएर उनले बोडी, करेला काक्राको व्यवासयिक खेती गदैं आएका प्रकाशले केही महिनाअघिमात्र ६ कठ्ठा जमीनमा लगाएको बोडीबाट २ लाख रुपैयाँबढी आम्दानी गरेको सुनाए ।
फुर्सदको समय उनी ट्याम्पो चलाउछन् । बचेको समयमा आफ्नो बारीमा काम गर्छन । उनले बोडी खेतीबाट समेत मनग्य आम्दानी गरेको बताए । ‘बोडी खेतीबाट राम्रो आम्दानी छ, सन्तुष्ट पनि छु ’ उनले भने—‘यो वर्ष अझ राम्रो उत्पादन भएको छ, बोडी खेतीबाट २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरे । ’बोडीको बजारमा कुनै समस्या नरहेको उनले बताए । यहाँ उत्पादन भएको बोडी मेचीनगरसहित अन्य ठाउँमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

बोडी, करेला खरबुजाखेती प्रकाशको आयआर्जनको प्रमुख स्रोत बनेको छ । बोडीमा लाग्ने किराले बेला–बेलामा बोडी खेती नष्ट गर्ने गरेको गुनासो गर्छन् । उनले बोडी खेती गर्ने कृषकलाई थप प्राविधिक ज्ञान र अनुदान वितरण हुनुपर्ने माग गरे । अब लसुन प्याजको व्यावसायिक खेती शुरु गर्ने योजनमा प्रकाश छन् ।

























