२८ असोज, मेचीनगर : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई ‘साम्पाङ’ ले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिए लगत्तै सक्रियता पनि बढाएका छन् । नगरप्रमुख निर्वाचित भएयता उनी खानेपानी आयोजना निर्माणमा सक्रिय छन् । धरानमा साम्पाङले ‘श्रमदान’ अभियान नै चलाएका थिए । सोहि अभियान अन्तर्गत सोमबार झापाको मेचीनगर ६ काँकरभिट्टामा ‘श्रम अभियान घोषणा कार्यक्रम’ लाई सम्बोधन गर्न आइपुगेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साम्पाङले पूर्वी प्रवेशद्वारमा नेपालको झण्डोत्तलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । यसैबीच पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व चयनको बेलामा पनि साम्पाङ काठमाडौं पुगेका थिए । बोल्ने क्रममा उनले भने–‘म प्रधानमन्त्री बन्न गएको होइन । प्रधानमन्त्री संवैधानिक हिसावले नेपाली नागरिक जो कोहि पनि हुन सक्छ । तर, पदका लागि म त्यहाँ गइन । मलाई कसैले फोन गरेर देश खतम भयो जिम्मा लिनुपर्यो भनेपछि सेनाको कफ्र्यू छिचोल्दै पाँचसय किलोमिटर टाढाबाट काठमाडौँ पुगेको र त्यहाँको गतिविधि देखेर दुःख लागेर आफु धरान फर्के ।’ विदेशी दुतावासको गुलामी भएर मन्त्री हुनु भन्दा जनताको कमारो हुनु आफुलाई स्वीकार्य भएको भन्दैं आफु धधरान फर्केको उनले स्पष्ट पारे ।
देश दुईवटा ध्रुविकरणमा जाने दाबी गदैं उनले भने—‘ पहिलो देशभक्त (राष्ट्रवादी) नागरिकहरु एकातिर र अर्कोतिर विदेशीको क्रिडास्थल बनाउन लागि परेका दलालहरु । ’यी दुई बीचको लडाइ अब शुरु हुने र अन्त्यमा राष्ट्रवादीहरुको जीत हुने ठोकुवा समेत गरे । ‘जेन—जी पुस्ताहरुले विभिन्न माग राखेर भदौ २३ र २४ गते आन्दोलन गरेपनि उनीहरुको माग पुरा नभएको बताए । मुलुकको प्रशासनिक केन्द्रका रुपमा रहेको ऐतिहासीक सिंहदरवार, राष्ट्रपति भवन,संसद भवन, न्याय सम्पादनको उपल्लो निकाय सर्वाेच्च अदालतलगायतका सम्पदाहरुमा भएको आगजनी, लुटपाट विरुद्ध उनले खुलेरै विरोध गरे ।

उनले मातृभूमिको कसम खाएर भने, ‘हर्क साम्पाङलाई यो संसारमा किन्ने कुनै धनराशी छैन । यहाँका धेरै नेताहरु लाख, करोडमा बिक्री भइरहेका छन् । श्रम गर्नु पर्छ । उत्पादनमा लाग्नु पर्छ । देशको इमानदार नागरिक बन्न कसैले रोक्न सक्दैन ।’ अब देशलाई विदेशीको क्रिडास्थल बन्न नदिन देशभक्त नागरिकहरु एकजुट हुनु पर्ने उनको भनाई छ । काँकरभिट्टा बजारमा स्थानीय युवाहरुले आयोजना गरेको ‘श्रम अभियान घोषणा कार्यक्रम’मा प्रमुख अतिथिकारुपमा सहभागी हुन पाउँदा ज्यादैं खुशी देखिने उनले श्रम गीत बाट कार्यक्रम शुरु गरे ।
खानेपानीको मुद्दा बोकेर हिँडेका साम्पाङलाई गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको नगरप्रमुख निर्वाचित गरेका थिए । उनी सामाजिक सञ्जालमा पनि अत्यन्तै सक्रिय रहन्छन् ।कार्यक्रमको अध्यक्षता स्थानीय समाजसेवी बालकृष्ण थापाले र सहजीकरण युवा नेता केवलराम राईले गरेका थिए ।


























