३० फागुन, मेचीनगर : यस वर्षको पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान-२०८२ तथा पुरस्कार लेखक, चिन्तक र राजनीतिज्ञ बहुमुखी प्रतिभाका धनी स्वर्गीय दान खालिङलाई प्रदान गरिएको छ । शनिबार विर्तामोड— १ स्थित ग्रीनफिल्ड वल्ड विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच उक्त सम्मान प्रदान गरिएको हो ।
भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा जन्मेर त्यहीको माटोमा हुर्केर त्यही नै उच्च शिक्षा हासिल गरी आजीवन नेपालमा सेवा गरेका र नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत योगदान गरी प्रज्ञा प्रतिष्ठानमा पटक पटक रहेर नेपाली भाषा साहित्य र कलाको अभिवृद्धि तथा नेपालको शिक्षा क्षेत्रको उन्नयन गर्न विभिन्न विद्यालय तथा क्याम्पसमा निःशुल्क सरह अध्यापन गरेका शिक्षासेवी स्वर्गीय खालिङलाई मरणोपरान्त उक्त सम्मान प्रदान गरीएको नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवम् साहित्यकार चन्द्र भण्डारीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख शिक्षासेवी राजेश खड्काले प्रदान गरेको नगद एकलाख ११ हजार एक सय ११ रुपैयाँ राशीसहित सम्मान पत्रसहितको पुरस्कार तथा सम्मान दिवंगत खालिङकी बहिनी नावोमी खालिङ तथा परिवारजनले ग्रहण गरेका थिए । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान बिर्तामोड झापाद्वारा आयोजित कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले गरेका थिए ।
प्रमुख अतिथि शिक्षासेवी खड्का, भाषा संग्रामी ज्ञानेन्द्र खतिवडा ‐शिलीगुडी) साहित्यकार चन्द्र भण्डारीले स्वर्गीय खालिङले नेपाली भाषा साहित्य, कला, शिक्षा र नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानका विषयमा बोलेका थिए । नेपाली भाषा साहित्य र संस्कृतिका अथक साधक मूर्धन्य साहित्यकार खालिङ समर्पित सेवा र साधना साहित्यिक आकाशमा ध्रुवतारा सरह अटल रहेको साहित्यकार भण्डारीले बताए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत अग्रणी तथा उदाहरणीय योगदान दिएर नेपाल र नेपालीकोश्रवृद्धिमा उर्वर समय निस्वार्थ समर्पण गरेको भण्डारीले स्पष्ट पारे ।

पत्रकारद्वय केशव भट्टराई र विनोद पाण्डेले खालिङको जीवनमा आधारित भएर तयार गरेको श्रव्य दृश्य प्रस्तुत गरेका थिए । अग्रज सञ्चारकर्मी लक्ष्मण ढकालले सहभागी सवैलाई शब्दमार्फत स्वागत गरेका थिए । सञ्चारकर्मी स्वस्तिका आचार्यले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान बिर्तामोडका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गोपालकुमार बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।
सोहि कार्यक्रममा झापाको विर्तामोडमा रहेको लिटल फ्लावर्स अंग्रेजी स्कुलले समत नगद एक लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरेको छ । विर्तामोडकै टावर टेम्पल विद्यालयले समेत नगद २५ हजार पाँच सय ५१ रुपैयाँ र सम्मान पत्र खालिङ परिवारलाई प्रदान गरेको थियो ।


























