मेचीनगर,३० चैत्र । पत्रकारमाथि अभद्र व्यवहार गरेको आरोपमा कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान उनलाई नियन्त्रणमा लिएको जनाएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशी प्रदेशका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए। सो घटनाबारे पीडित पत्रकारले उजुरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
उजुरीका आधारमा खोजतलास तीव्र बनाएको प्रहरीले पाठकलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त टोलीले शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी पक्राउ गरेको प्रवक्ता खड्काले जानकारी दिए। पक्राउ परेका पाठकलाई हाल जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पत्रकार आचार्यमाथि गरिएको व्यवहार सम्बन्धी घटनाको सत्यतथ्य पत्ता लगाउन विस्तृत अनुसन्धान जारी रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाठकविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा अघि बढाइने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।
पत्रकारमाथि भएको उक्त घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे पुनः चासो बढाएको छ। सञ्चारकर्मीहरूलाई निर्भय वातावरणमा समाचार संकलन तथा प्रकाशन गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।

























