काँकरभिट्टा,२७ पुस | झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले धर्मले मानिसलाई नैतिकवान , मर्यादित इमान्दार, अनुशासीत र चरित्रवान बनाउने बताउनुभएको छ ।
सोमबार झापाको मेचीनगरस्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा २०४१ सालमा निर्मित दुर्गा भगवती मन्दिरको पुनःनिर्माण सम्पन्न गरी मूर्ति प्राण प्रतिष्ठा एवम् मन्दिर उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारीले यस्तो बताउनुभएको हो । प्राण प्रतिष्ठा गरिएको देवि भगवतीको मूर्ति र यस मन्दिरले एउटा मान्छेलाई सत्कर्ममा लाग्न र असल आचरण सिकाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जानेर वा नजानेर विभिन्न खालका आपराधि घटनमा संलग्नमा व्यक्तिहरुलाई सकरात्मक सन्देश दिने उहाँले बताउनुभयो । धर्मले मानिसलाई जहिले पनि नफूटाई जुटाउने कर्म गर्ने उहाँको भनाई थियो ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले इलाका प्रहरी कार्यालयले सवैको साथ सहयोगमा यस्तो पवित्र कार्य गरेको भन्दैं प्रशंसा गर्नुभयो । उहाँले कोभिड १९ को महामारीका बखत मेचीनगर नगरपालिका, यसक्षेत्रका उद्योगी, व्यवसायी, नागरिक समाज, राजनीतिक दल, विभिन्न संघ संस्थाले यसको नियन्त्रणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रम आयोजक इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले कार्यक्रममा सहभागी सवैलाई शब्दमार्फत स्वागत गदैं इलाका प्रहरी कार्यालयको बजेट, प्रहरीको श्रमदान तथा विभिन्न उद्यागी व्यवसायीहरुको ९ लाख ७२ हजार रुपैयाँको खर्चमा मन्दिरको पुनःनिर्माण गरी ८० हजार रुपैयाँ मुल्य बराबरको मूर्ति प्राण प्रतिष्ठा गरिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा भए गरेका उपलब्धिमुलक कामका बारेमा समेत सहभागी सवैलाई जानकारी गराउनुभयो । मन्दिर निर्माण समितिका अध्यक्ष मोहन निरौलाले कार्यक्रमको अध्यक्षता गदैं यसमा तन, मन धन र बचनले प्रत्यक्ष परोक्षरुपमा साथ सहयोग गर्नुहुनेमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रहरी निरीक्षक जीवन मैनालीले कार्यक्रमको सञ्चालन गदैं मन्दिर पुनःनिर्माणमा सहयोग गर्नुहुने ३३ जना दाताहरुको नाम सार्वजनिक गर्नुभयो । उक्त मन्दिर २०७७ भदौ ९ गतेबाट पुनःनिर्माण शुरु गरी चारमहिनामा सम्पन्न गरी आज उद्घाटन गरिएको प्रहरी निरीक्षक मैनालीले बताउनुभयो । मूर्ति प्राण प्रतिष्ठा एवम् उद्घाटन समारोहमा यस कार्यमा पुर्याएको सहयोगको उच्च मुल्याङ्कन गदैं विभिन्न संघ संस्था र व्यक्ति गरी १७ जनालाई सम्मान गरिएको थियो ।

मेचीनगर नगरपालिका वडा नम्बर ६, मेची उद्योग बाणिज्य संघ मेचीनगर, मेची अभियान मेचीनगर, काँकरभिट्टा सोसाईटि, नेपाल रेडक्रस सोसार्ईटि, आदर्श मावि, रोटरी क्लब अफ काँकरभिट्टा, महिला जनचेतना केन्द्र, माइती नेपाल, सत्य साई संगठन प्रदेश नम्बर १ क नरेश महरा, भीम लुईटेल, नवयात्र पुन?स्थापना केन्द्र काँकरभिट्टा, रेवत बस्नेत सनराइज फाउण्डेशन सेन्टर धुलावारी, सन्दिप थापा फ्रिडम फाउण्डेशन काँकरभिट्टा, प्रहरी सहायक निरीक्षक दुर्गा खनाल इलाका प्रहरी कार्यालय काँकरभिट्टा ,प्रहरी हवाल्दार वेदबहादुर श्रेष्ठ इलाका प्रहरी कार्यालय काँकरभिट्टा, कार्यालय सहयोगी निरबहादुर विक इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई सम्मान पत्र सहित फुलमाला पहिर्याएर सम्मान गरिएको हो । ८० हजार रुपैयाँ मुल्य बराबरको मूर्ति प्रदान गर्ने विर्तामोड ५ का द्वारिकाप्रसाद मित्तललाई दोसल्ला र मालासहित अभिनन्दन गरिएको थियो ।


























