२२ मंसिर, मेचीनगर : नेपाल स्काउट स्थानीय स्काउट तदर्थ समितिको आयोजनामा सञ्चालित मेचीनगर स्तरीय अन्तर स्काउट दल हस्तकला प्रतियोगितामा मेचीनगर १४, दुवागढी स्थित बालसुबोधिनी स्काउट दलकी आस्था सुवेदी प्रथम भएकी छिन् । त्यसैगरी इष्ट होराइजन स्काउट दल मेचीनगर १० धुलाबारीका प्रिन्सेस सिथुङ्ग द्वितीय र श्री टिटिएल स्काउट दल मेचीनगर ९ मागुरमाडीका चन्द्र विश्वकर्मा तृतीय भएका छन् । मेचीनगरका स्काउट सञ्चालनमा रहेका २१ वटा विद्यालयका २१ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।
दन्तकाली बोर्डिङ्ग स्कुल मेचीनगर १२ चारआलीमा आयोजित प्रतियोगिताको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुनकुमार वस्नेत एवम् विशेष अतिथि विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल रहुनु भएको थियो ।
एमिटी पब्लिक स्कुलका फाउण्डर प्रिन्सिपल एवम् स्काउटर सुवर्ण भट्टराई, स्काउटर टिकेन्द्र ढकाल र स्काउटर संगीता थापा प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो । स्काउटर दुर्गाबहादुर लुइटेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको नेपाल स्काउट स्थानीय तदर्थ समिति सदस्य सुष्मा सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सहायक राष्ट्रिय प्रशिक्षक एवम् नगर तदर्थ समिति सदस्य सिवानी देवानले गर्नुभएको थियो ।



























