१९, जेठ मेचीनगर : झापा मेचीनगर —५ की ७६ वर्षीय रमादेवि करुवा शनिबार घर आगनमै विशेषज्ञ सेवा त्यसमा पनि निःशुल्क पाउँदा निक्कै खुशी देखिनुहुन्थयो । चिया मजदुरी गरेर विहान बेलुकाको गर्जाे टादैं आएकी करुवा आर्थिक अभावका कारण शहरमा पुगेर ठूल्ठुला अस्पतालमा उपचार गराउन सक्ने अवस्था नभएकै कारण विराम पालेर बस्नु परेको पीडा सुनाउनुहुन्छ । उहाँमात्र होइन उहाँसँगै आउनु भएका पति बशन्त करुवासमेत गाउँमा विशेषज्ञ सेवा पाउँदा निक्कै खुशी हुनुभयो । शनिबार रमादेवी र बशन्तजस्ता दुईसय बढीले गाउँमा निःशुल्क विशेषज्ञ सेवा पाएका थिए ।
आर्थिक अभाव कमजोर र पैसा नभएर घरमै रोग पालेर बस्न बाँध्य तथा उपचारको पहुँचसम्म पुग्न नसक्ने सर्वसाधारणलाई लक्षित गरेर अन्तर्राष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

मेचीनगर —६ मा रहेको नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लिको व्यवस्थापनमा स्थानीय गंगा मेमोरियल अंग्रेजी विद्यालय नकलबन्दाको परिसरमा आयोजित शिविरमा अधिकाँश ग्रामीणक्षेत्रबाट सेवा लिन आएको क्लबका मिडिया कोर्डिनेटर लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडबाट महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर ज्योति भाजु लामाको नेतृत्वमा विशेषज्ञसहितको टोली शिविरस्थलमा पुगेको थियो । टोलीले २ सय ५ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । फिजिसियन, स्त्री रोग, पाठेघरको मुखको क्यान्सर सम्बन्धी भिआईए परीक्षण, तथा क्यान्सर सम्बन्धी सचेतना सेवा सेवाग्राहीलाई प्रदान गरेको पूर्व अध्यक्ष कृष्णकान्त (नवराज) खनियाँले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षण गरेकामध्ये ५ जनालाई थप परीक्षणका लागि अस्पताल बोलाईएको छ । ‘पाँचजनामा केही संक्रमण देखिएका कारण उपचारका लागि अस्पताल जान सुझाव दिएका छौ ’ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर ज्योति भाजु लामाले भन्नुभयो— ‘यस्ता शिविर सर्वसाधारणका लागि निक्कै प्रभावकारी हुन्छन् । कतिजना विविध कारणले विभिन्न रोग पालेर बस्न बाँध्य हुनुहुन्छ । ’
असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको क्लबले जनाएको छ । क्लबले गाउँमै शिविर सञ्चालन गरेकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । मेचीनगर ५ की वडा सदस्य एवम् कार्यपालिका सदस्य (जनप्रतिनिधि) माया प्याकुरले भन्नुभयो—‘ महिलाका विभिन्न खाले तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो । क्बलको शिविरमार्फत गाउँमै सेवा पायौँ खुशी लाग्यो । ’ शिविरमार्फत मेचीनगर नगरपालिकाका – ५, ६, ७ र ८ का स्थानीयवासीले सेवा लिएका छन् । क्लबले आम नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेकोमा कार्यपालिका सदस्य प्याकुरेलले क्लबको ग प्रसंशा गर्नुभयो ।

सहकारीका अध्यक्ष केशर तिम्सिनाका अनुसार सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले क्लबसँग समन्वय गरेर समुदायमा केन्द्रीत स्वास्थ्य शिविर सञ्चालन गरेको धारणा राख्नुभयो । शिविरमा ४० वर्षदेखि ६५ वर्ष उमेर समुहका महिलाहरु बढी आएका थिए । उनीहरुलाई विएण्डसी मेडिकल कलेज विर्तामोडको प्रसुति तथा स्त्री रोग विभागका डाक्टर ज्योति भाजु लामाले स्वास्थ्य सेवा प्रदान गर्नुभयो । प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर वराल बेला बेला यस्ता शिविर सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।


































