२३ असार, मेचीनगर : युवालाई उत्पादन र उद्यमसँग जोड्न मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्षबाट विशेष कार्यक्रम ल्याउने संकेत गरेको छ । विदेश पलायन रोक्न युवालाई नगर युवा परिषद् मार्फत युवा उद्यम प्रोत्साहन कार्यक्रमलाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेत समेटेको नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिनुभयो ।
युवा विकासतर्फ नगरस्तरीय युवा परिषद् मार्फत युवा उद्यम प्रोत्साहन कार्यक्रम, सकरात्मक परिवर्तन सम्बन्धी, युवा उद्यम विकासका लागि र युवा उद्यम विकास छनौटका लागि विशेषज्ञ सेवा समेतमा बजेट विनियोजन गरेको उपप्रमुख उप्रेतीको भनाई छ । यसका लागि नगरपालिकाले २९ लाख रुपैयाँ विनियोजन गरेको छ । युवा उद्यम प्रोत्साहन कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ ।
‘युवाका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेका छौ ’उपप्रमुख उप्रेतीले भन्नुभयो—‘युवाहरूको विदेश पलायनलाई रोक्न र स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्नको लागि स्थानीय सरकार मेचीनगर नगरपालिकाले विशेष व्यवस्था गर्न लागेको हो ।’ युवालाई कृषिलगायत विभिन्न उद्योगसँग जोड्न र प्रोत्साहन गर्नका लागि स्थानीय सरकार लागिपरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
देशमै कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै नगर प्रमुख बुढाथोकीले कृषिलगायत अन्य उद्यममा युवाहरुलाई सहि बाटो देखाउन नगरपालिकाले युवाहरुलाई लक्षित गरी उनीहरुलाई उत्पादनसँग जोड्न विशेष कार्यक्रम ल्याउँने बताउनुभयो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको र कार्यान्वयमा समेत जाने उहाँको भनाई छ । आगामी आर्थिक वर्ष २०८१/०८२ मा सकरात्मक परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालनका लागि चार लाख, युवा उद्यम विकासका लागि दोस्रो ‘आइडिया हन्ट’ कार्यक्रमका लागि तीन लाख र युवा उद्यम विकास छनौटका लागि विशेषज्ञ सेवा खर्चका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । युवालाई उत्पादन र उद्यमसंग जोड्न सकियो भने देशको अर्थतन्त्र सुधार हुने र बढ्दो विदेश पलायन क्रमश्ः न्यून हुदैं जानेमा नगरपालिकाले विश्वास लिएको छ ।
स्थानीय सरकारले युवाहरुलाई व्यवसायिक कृषि, उद्यमसहित कुनै न कुनै व्यवासायमा जोड्ने उहाँको भनाई छ । उद्यमशीलता विकास गरेर रोजगारी सिर्जना गर्न सके विदेश पलाय कम हुने उहाँको विश्वास छ । नेपालमा सम्भावना र अवसरहरु थुप्रै भएपनि त्यसलाई सहि ठाउँमा प्रयोग गर्न नसकेको बताउँदैं देश सम्भावनाले भरिपूर्ण भएपनि केही साना–साना कुराहरुमा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएको नगर प्रमुख बुढाथोकीको भनाई छ ।
युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने हो भने यी सारा कुराको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसका लागि नगरभित्र सञ्चालनमा रहेका सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको तर्क छ । स्थानीय सरकारले विगतमा व्यावसायिक कृषिमा युवालाई जोड्न खोजेको भएपनि कृषि कर्मलाई हेर्ने समाजको फरक दुष्टिकोण अनि हेला गर्ने अवस्थाले जोड्न नसकेको स्थानीयवासी रामलाल चौधरीको भनाई छ । युवालाई उत्पादन र उद्यमसंग जोड्न सके मात्र देशको अर्थतन्त्रमा सुधार हुने विज्ञहरुको भनाई छ ।

























