स्थानीय सरकारलाई सुनाए शिक्षिकाहरुले आफ्ना पीडा : सामुदायिक विद्यालयमा स्तनपान कक्षको व्यवस्था गरिदिन आग्रह

१८ साउन , मेचीनगर: स्तनपान कक्ष, खाजा घर, शौचालय, खानेपानीलगायत भौतिक संरचना झापा मेचीनगरका थुप्रै सामुदायिक विद्यालयहरुका साझा समस्याका रुपमा रहेको पाईएको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको कार्यपालिका बैठक कक्षमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेती र नगरभित्र सञ्चालमा रहेका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत महिला प्रधानध्यापक, शिक्षिका तथा बालकक्षामा कार्यरत शिक्षिकाहरुबीच झण्डै तीन घण्टा लामो छलफलका क्रममा सहभागी महिला प्रधानध्यापक र शिक्षिकाहरुले नगर उपप्रमुख समक्ष हरेक सामुदायिक विद्यालयका थुप्रै समस्याहरु एक अर्का विद्यालयसँग मिल्दाजुल्दा रहेको धारणा राखेका थिए ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न छलफलमा अहिले बालकक्षामा कार्यरत शिक्षिकाहरुलाई फरक दृष्टिकोणले हेर्ने गरिएको गुनासो राखेका थिए । हरेक विद्यालयमा सुविधा सम्पन्न शिक्षक र विद्यार्थीहरुका लागि अलग अलग शौचालय नहुँदा सवैभन्दा बढी समस्या वेहोर्नुपरेको गुनासो सहभागीहरुले स्थानीय सरकार समक्ष राखेका थिए ।

विद्यालयमा शौचालय व्यवस्थित नहुनु थुप्रै विद्यालयका साझा समस्या रहेको र यसले गर्दा शिक्षिका र छात्राहरुलाई बढि समस्या हुने गरेको भनाई सहभागीहरुको थियो । सहभागीहरुले पछिल्लो समय लागूऔषधको समस्या निक्कै भोगनुपरेको भन्दैं सेवन गरेर समेत विद्यालय आउने गरेका कारण आफूहरु असुरक्षित हुनु परेको र आफुहरुलाई नेतृत्व र व्यक्तित्व विकासको तालिमको अवसर चाँहिएको समेत धारणा राखेका थिए । स्थानीय सरकारले बजेट विनियोजन गर्दा महिला प्रधानध्यापक भएका विद्यालयलाई प्राथमिकतामा राखिदिन समेत सहभागीहरुले आग्रह गरेका थिए । विद्यालयहरुलाई अनुगमन गरेर मात्र टिनको छानोदेखि अन्य संरचना प्रदान गर्न समेत उनीहरुले सुल्झाएका थिए । कतिवटा विद्यालयका कर्मचारीहरुले महिला शिक्षकहरुलाई मतलव नै नगर्ने समेत गरेको गुनासो पोखेका थिए ।

‘थुप्रै विद्यालयहरुमा स्तनपान कक्षको व्यवस्था छैन्’ कविशिरोमणि मावि मेचीनगर — ९ का शिक्षिका निलु शर्माले भन्नुभयो—‘ अनि आमा शिक्षिकाहरु आफ्ना बच्चाहरुलाई स्तनपान गराउन घरसम्म जानुपर्छ त्यसपछि विरोध हुन्छ विरोध गर्नेमा शिक्षकहरु हुनुहुन्छ ।’ तीनमहिना सुत्केरी विदा दिए पनि त्यसपछि आफ्ना बच्चाहरु च्यापेर विद्यालय आउनुपर्ने अवस्था रहेको भन्दैं शर्माले हरेक विद्यालयमा सुविधा सम्पन्न व्यवस्थितरुपमा अलगै स्तनपान कक्षको व्यवस्थाका लागि उपप्रमुख उप्रेतीमार्फत स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

बाल बिकाश आधारभूत विद्यालय मेचीनगर —१ का शिक्षिका फडिन्द्रा पौडेलले अहिले पनि थुप्रै विद्यालयको छानाले घाम र पानी न छेक्ने भएकाले बर्खाका बखत विद्यार्थीहरुको भागाभाग हुने अवस्था रहेको भन्दैं यसलाई सम्बोधन गरिदिन आग्रह गर्नुभयो । विद्यालय भवनका झयाल ढोका जीर्ण, पिउने पानीका धारादेखि थुप्रै सामाग्री चोरी हुने, शौचालयका झयाल ढोका फोड्ने समस्याबाट थुप्रै विद्यालय गुज्रिरहेको उहाँको भनाई थियो । ग्रामीणक्षेत्रमा सञ्चालनमा रहेका विद्यालयहरुमा अध्ययनत विद्यार्थीहरुको अवस्था दयनिय र आर्थिक अवस्था कमजोर भएकै कारण पुरै समय उनीहरु विद्यालय नआउने गरेका कारण पनि विद्यालयले चाहे अनुसारको नतिजा दिन नसकेको उहाँको भनाई छ । अझ सवैभन्दा बढि समस्या त छात्राहरु महिनावारी भएका बखत उनीहरुले वेहोर्नु परेको पीडा उपप्रमुख समक्ष सहभागीहरुले राखे । स्थानीय सरकारले उनीहरुलाई लक्षित गरेर सेनिटरी प्याडको व्यवस्था गरे पनि परिवर्तन गर्ने कोठा ‐चेञ्जिङ्ग रुम) को उचित व्यवस्थापन नहँुदा समस्या हुने गरेको सहभागीहरुले धारणा राखेका थिए ।

अहिले सम्म पनि विद्यालयलाई प्रविधि मैत्री बनाउन नसकिएको, प्रविधि भए पनि दक्ष प्राविधिक विषय विज्ञको अभाव भएको, महिलाहरुलाई प्रविधि मैत्री बनाउन नसकिएको, दिवा खाजाका लागि पर्याप्त रकम नपाएको, दिवा खाजा खान अलगै कोठाको व्यवस्था नभएको, फरक क्षमता भएका विद्यार्थीहरुका लागि उनीहरुको माग बमोजिमका स्रोत र साधनको अभाव भएको, हरेक विद्यालयमा मनोपरामर्शदाताको व्यवस्था नभएको, बालकक्षामा कार्यरत शिक्षिकाहरु पछि घर जादा खाली हात जानुपर्ने बाँध्यता रहेकोलगायतका समस्या सहभागीहरुले राखेका थिए । लामो विदा पश्चात विद्यालय लागेपछि विद्यालय पुग्दा कक्षा कोठाका पंखा, विद्युतका अन्य सामान, खानेपानीका धाराहरुसहित अन्य संरचना चोरी हुने गरेको भानु मावि मेचीनगर —२ का शिक्षिका मुनामाया रानाले सुनाउनुभयो । बालकक्षामा कार्यरत शिक्षिकाहरुले भविष्यका लागि आफ्नो बारेमा सोचीदिन आग्रह गरेका थिए । सहभागीहरुले यस्ता कार्यक्रमहरु आफ्ना लागि निक्कै महत्वपूर्ण र फलदायी हुने भएकाले स्थानीय सरकारबातर्फबाट बेलाबखत आयोजना गरिदिन समेत अनुरोध गरेका थिए ।

सहभागीहरुका समस्या सुनेपछि नगर उपप्रमुख उप्रेती, शिक्षा शाखा प्रमुख उपसचिव भण्डारी भण्डारीले हरेक समस्या सम्बोधन गर्न सकिने र कतिपय कुरा कार्यान्वयनमा रहेको बताउनुभयो । उपप्रमुख उप्रेतीले कहिकतै कुनै प्रकारका समस्या भए खुलेरै आफू समक्ष राख्न समेत अनुरोध गर्नुभयो । अहिले थुप्रै अभिभावक र विद्यार्थीहरुको रोजाईमा निजी विद्यालय परेका कारण सामुदायिक विद्यालयहरुले पनि अभिभावक र विद्यार्थीहरुलाई आर्कषण गर्न सक्नुपर्ने बताउनुभयो । निःशुल्क शिक्षा र स्वस्थ्य हरेक नागरिकको नैसर्गिक अधिकार भएका कारण यस अधिकारबाट कसैलाई पनि बञ्चित राख्न नहुने र नतिजा निजी विद्यालयको भन्दा कम आउन नदिनेतर्फ सवै सचेत हुनुपर्नेमा जोड दिनुभयो । आत्मरक्षालगायत अन्य तालिमबाट स्थानीय सरकारले कुनै पनि महिलाहरुलाई बञ्चित नगर्ने उहाँको भनाई थियो । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहभागीहरुले नगर उपप्रमुख समक्ष गरेको आग्रहलाई स्वीकार गदैं यसले निरन्तरता पाउनेमा विश्वास दिलाउनुभयो ।

शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले स्थानीइ सरकारले अहिलेसम्म शिक्षामा गरेको उन्न्ति प्रगति र लगानीका विषयमा प्रष्ट पार्नुभयो । भानु मावि मेनपा —२ का प्रधानध्यापक खडगकुमारी तिम्सिना, दिपेन्द्र प्रावि मेनपा —४ का प्रधानध्यापक श्री शान्ता निरौला, ज्ञानदीप प्रावि मेनपा —१५ प्रधानध्यापक अञ्जु पौडेललगायत विभिन्न विद्यालयका ३१ जना शिक्षिकाहरुको उपस्थिती रहेको थियो । सरस्वती मावि मेनपा —४ का शिक्षिका नमूना निरौलाले छलफलको सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.