गर्मीको चर्को प्रभाव: विद्यालयहरू प्रभावित, बालबालिकाको स्वास्थ्यमा जोखिम

A notice in Nepali from Mechinagar Ward No. 10

२७ जेठ, मेचीनगर : पछिल्ला दिनहरूमा बढ्दो गर्मीले मेचीनगरका विद्यालयहरूको पठनपाठनमा प्रत्यक्ष असर पार्न थालेको छ। बिहानदेखि नै चर्को घाम र उच्च तापक्रमका कारण कक्षाकोठा भित्र नै असहज गर्मी महसुस हुन थालेको छ, जसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई प्रतिकूल बनाइरहेको छ।

विशेषगरी साना बालबालिकाहरू लामो समयसम्म कक्षामा बसेर ध्यान दिन नसक्ने, चिउँडो दुख्ने, पसिना धेरै आउने, डिहाइड्रेसन, झाडा-पखाला र वान्ता-ज्वरो जस्ता समस्या देखिन थालेको अभिभावक र शिक्षकहरूले बताएका छन्।

मेचीनगर क्षेत्रमा चर्को गर्मी र विद्युत आपूर्तिमा आएको समस्याले विद्यालयहरूको पठनपाठनमा गम्भीर असर परेको छ। एकातर्फ लामो समयसम्म उच्च तापक्रमका कारण कक्षाकोठा भित्रै बस्न कठिन हुन थालेको छ भने अर्कोतर्फ एशियन हाइवे विस्तारका लागि बिजुलीका पोल सार्ने कार्यले गर्दा दिनभर जस्तो बत्ती नआउँदा विद्यालय सञ्चालनमा थप समस्या सिर्जना भएको छ।

प्याब्सन मेचीनगरका पूर्व अध्यक्ष डम्बर रुचालका अनुसार —“एक त गर्मी, अर्कोतर्फ बत्तीको समस्या, यस्तो दोहोरो पीडाले विद्यालय सञ्चालन अत्यन्त कठिन भइरहेको छ। न त पंखा चल्छ, न त प्रयोगात्मक पढाइ सहज हुन्छ। बालबालिकाले लामो समयसम्म कक्षा बस्न सक्दैनन्, सिकाइमा प्रत्यक्ष असर परेको छ।”

नेशनल प्याब्सन झापाका सचिव भगिरथ राईका अनुसार —“वर्तमान गर्मीको अवस्था हेर्दा अब विद्यालयहरूले वैकल्पिक पठनपाठनको व्यवस्था वा अस्थायी विदाको विकल्पबारे गम्भीर विचार गर्नुपर्छ। बालबालिकाको स्वास्थ्य जोखिममा पारेर पठनपाठन गर्नु उपयुक्त हुँदैन।”

हाल मेचीनगर क्षेत्रका केही विद्यालयहरूले बिहानको समयमा कक्षा सञ्चालन गर्ने, समय घटाउने वा अनलाइन माध्यममा जाने तयारी थालेका छन्। तर सबै विद्यालयमा प्रविधि र पहुँचको समान अवस्था नरहेकाले नीति र व्यवहारबीच सन्तुलन आवश्यक देखिएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता अत्यधिक तापक्रमको अवस्थामा बालबालिकालाई हल्का, सुतिको कपडा लगाउने, प्रशस्त पानी पिउने, दिउँसोको घामबाट जोगिने र अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन्।

यदि गर्मीको यो प्रवृत्ति केही दिन यस्तै रह्यो भने, बालबालिकाको सिकाइ, स्वास्थ्य र मनोविज्ञानमा नकारात्मक असर पर्ने देखिन्छ। शिक्षाविद्हरूले समयमै नीति निर्माण गर्न सरकार र स्थानीय तहलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.