काठमाडौँ : सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने निर्णय कार्यान्वयन गर्न थालेसँगै फेसबुकको मातृ कम्पनी मेटा, एक्स (ट्विटर) र वीच्याट सरकारको सम्पर्कमा आएका छन्।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्न पत्र लेखेको थियो। यसैबीच, मन्त्रालयका अनुसार एक्स (ट्विटर) को सिङ्गापुरस्थित कार्यालयबाट सूचीकरणबारे जानकारी माग्दै इमेल प्राप्त भएको छ। यसैगरी, मेटाले पनि अनौपचारिक रूपमा सम्पर्क गरी सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको जनाइएको छ।
मन्त्रालयले ती कम्पनीहरूलाई आवश्यक विवरणसहित सूचीकरणका लागि निवेदन दिएपछि उनीहरूलाई निष्क्रिय सूचीबाट हटाइने बताएको छ। शुक्रबार नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी वीच्याट ले पनि सरकारसँग सम्पर्क गरी सूचीकरणको प्रक्रियाबारे जानकारी मागेको छ।
अब कुन-कुन प्लेटफर्म सम्पर्कविहीन?
सरकारले बन्द गर्न निर्देशन दिएकामध्ये अब युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मी वी, भीके, लाइन, इमो र जालो लगायतका अन्य सामाजिक सञ्जालहरू सम्पर्कमा आएका छैनन्। यीमध्ये युट्युब र लिंक्डइन नेपालमा अत्यधिक प्रयोगमा रहेका छन्।
सरकारको यस निर्णयले विश्वका ठूला प्रविधि कम्पनीहरूलाई नेपालको कानुनको दायरामा आउन दबाब परेको देखिएको छ, जसको परिणाम स्वरूप उनीहरूले सूचीकरणको प्रक्रिया सुरु गर्न चासो देखाएका छन्।


























