
उनीहरुलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गर्यो । पक्राउ परेका एक जना भारतको दार्जीलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र अर्का संखुवासभाको मकालु–३ का ६१ वर्षीय जापान गुरुङ रहेका छन् ।
वैदेशिक रोजगारमा जान भनेर हिडेका ९० महिला सहित एकसय ३५ जनालाई नेपाल सरकारले विभिन्नस्तरको समन्वय र सहकार्यमा भारतको मणिपुरबाट केहीवर्ष अघि उद्धार गर्यो ।
चारवर्षअघिमात्र वैदेशिक रोजगारमा काजकिस्तान लगिदिने झुटो आश्वासन दिएर हैदरावाद पुर्याएका तीन महिलालाई बाटैमा अलपत्र पार्दै पाँच महिना कोठामा थुनेर राखिएको घटना बाहिर आएपछि रहेछ विशेष सूचना पाएसँगै नेपाल सरकार उद्धार गर्न सफल भयो ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । संगठित सामाजिक अपराध मानव बेचबिखन तथा ओसारपसार विश्वकै चासोको विषय हो । केही बर्ष अगाडिसम्म बेचबिखन भन्नासाथ भारतका कोठीहरूमा नेपालका गाउँका युवतीहरूलाई पुर्याइने काम भन्ने आम मानिसको बुझाइ थियो । यस्ता युवतीहरू गरिब, अशिक्षित, सूचनाबाट वञ्चित र दलालको फन्दामा छिट्टै पर्न सक्ने सम्भावना रहेका भन्ने धारणा पनि थियो । मानव बेचबिखन तथा ओसारपसार विभिन्न कार्य तथा प्रयोजनका लागि हुने गरेको बताइएको छ । नेपाली महिला तथा बालबालिका अन्तर्राष्ट्रियस्तरमा, सीमापारि भारत, चीन र अन्तरदेशीय स्तरमा यौनशोषणको लागि बेचबिखनमा परेको उक अध्ययनले देखाएको छ । त्यस्तै, आर्थिक बाध्यतामा परेका कतिपय व्यक्तिहरूलाई मानव अंग तस्करहरूले ललाईफकाई झुक्याएर, अप्ठ्यारोमा पारेर वा धम्क्याएर अंग बिक्री गर्ने गर्दछन् । नेपालमा मिर्गौला बेचबिखनमा परेका प्रभावितहरूको संख्या उल्लेख्य मात्रामा रहेको विभिन्न संघ संस्थाले जनाएका छन ।
सिन्धुली दुधौली नगरपालिकाका एक व्यक्तिलाई रोजगारीको प्रलोभन देखाई भारत लगेर मृगौला चोरी गरिएको पुष्टि भएको थियो । जुन समाचार र तस्वीर समाजिक सञ्जालमा समेत थियो ।
रोजगारीका लागि पोखरा पुगेका उनलाई होटलमा काम लगाइदिने बहानामा भारत पुर्याइएको समाचार थियो । त्यहाँ पु¥याएर उनलाई बेहोस बनाइ एउटा मृगौला निकालिएको पारिवारिक स्रोतललाई उद्दृत गदैं सञ्चारमाध्यमहरुले जनाएका थिए ।

मानव बेचबिखन तथा ओसारपसारको अर्को प्रयोजन जबर्जस्ती श्रम पनि भएको बताइएको छ । बेचबिखनका परिवर्तित आयामहरूसँगै युवती र महिलाका साथै ठूलो संख्यामा बालबालिका र पुरुषहरू पनि यसको फन्दामा पर्न थालेका छन । मानव बेचबिखन तथा ओसारपसार कार्य एक गम्भीर अपराध मानिन्छ । यस्ता घटना न्यूनीकरण गर्न नेपालमा थुप्रै संस्थासंस्था सक्रिय छन् । तर त्यस्ता प्रयास प्रभावकारी नदेखिएको हो कि भन्ने भान भइरहेको छ । नेपाल भारतको सीमानाका काँकरभिट्टामा माईती नेपाल, सानाहातहरु नेपाल, नव अभियान नेपाल, आफन्त नेपाल, साहसी महिला नेपाललगायतका थुप्रै गैरसरकारी संस्थाहरु तैनाथ छन् ।
संस्था जतिवटा र जे जे नामका भए पनि उद्धेश्य भने सवैको एउटै छ । मानव बेचबिखन नियन्त्रण गर्नु, लैङ्गिक हिंसाको रोकथाम तथा कुनै प्रलोभनमा परेर वेचिएका मानवहरुको उद्धार गरी पुनःस्थापना गर्नु नै हो । तर, पनि यस्ता घटना पटक पटक दोहोरिरहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष २०८१—८२ एकवर्षे अवधिमा कोशी प्रदेशका १४ वटा जिल्लामा यस्ता प्रकृतिका ११ वटा मुद्धा दर्ता भएको प्रहरीले बताएको छ । घटनामा संलग्न १० महिला र २४ पुरुषगरी कुल ३४ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु सवै अहिले पनि कारागारमा बन्दी जीवन विताइरहेका छन् ।

मानव बेचबिखन किन हुन्छ ? उत्तर सहजै छ, गरिबी, अशिक्षा तथा बेरोजगारी । वा यी र यस्ता कुरा मानव बेचविखन तथा ओसारपसारको मुख्य समस्या हुन । मानव बेचबिखन एक गम्भीर अपराध मात्र होइन, मानवीय गरिमाको खुला अपमान हो । हुन त ः हरेक वर्षको ३० जुलाइमा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको मनाईन्छ । यसको एउटै उद्धेश्य मानव बेचबिखन नियन्त्रणका लागि विभिन्न चेतना जगाउनु । तर, यस्ता दिवसले मानव बेचबिखनका घटनामा कमि आउन सकेको छैन।
विश्वमा संगठित अपराधको सूचीमा मानव बेचबिखन र तस्करी दोस्रो नाफामूलक आपराधिक व्यापारमा पर्छन् । संयुक्त राष्ट्रसंघका अनुसार, संगठित अपराधबाट विश्वको कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ७ प्रतिशत (१.६ ट्रिलियन डलर) बराबरको रकम कारोबार हुने गरेको एउटा अध्ययनले देखाएको छ ।
मानव बेचबिखन गम्भीर अपराध हो भन्ने थाहा नहुनु, आफन्त तथा नजिकको व्यक्तिका कारण घटना भएमा कानुनी प्रक्रियामा नजानु, पारिवारिक तथा सामाजिक सहयोग नहुनु, किशोरीको विद्यालय छाडने क्रम नरोकिनुले पनि मानव बेचबिखन बढिरहेको सरोकारवालाहरुको भनाई छ । मानव बेचबिखन तथा ओसारपसारमा विशेषतः महिला, लंगिक अल्पसंख्यक समुदाय र बालबालिका प्रभावित हुने विभिन्न घटनाहरुले देखाएको माइती नेपाल कोशी प्रदेश संयोजक गोविन्द घिमिरेको भनाई छ ।
यसअघि यौनशोषणको लागि मात्र बेचबिखन तथा ओसारपसार हुने गर्दथ्यो भने आजकल श्रमशोषण पनि हुन थालेको बताइएको छ । विगतमा यौन व्यवसायका लागि महिला तथा किशोरी÷युवती बेचबिखनमा पर्दै गएकोमा मानव बेचबिखनका नयाँनयाँ प्रयोजन थपिँदै जाँदा जुनसुकै उमेर समूह तथा लिंगका व्यक्ति जोखिमको अवस्थामा पर्ने गरेको लामो समयदेखि मानव बेचबिखन विरुद्ध काम गदैं आएको झापाको काँकरभिट्टामा रहेको एउटा गैरसरकारी संस्थाका शाखा प्रमुखको भनाई छ । बालबालिका, महिला, र पुरुषहरू जबरजस्ती श्रम, यौन शोषण, र अन्य अमानवीय परिस्थितिमा धकेलिने यो अपराधलाई रोक्न हामी सबैको साझा दायित्व भएको माइती नेपाल कोशी प्रदेशले बताएको छ । बढ्दो प्रविधिको प्रयोग, इन्टरनेट आदि सुविधाका कारण साइबर क्राइम र बेचबिखनको जोखिम उच्च देखिएको बताइएको छ ।
हुनतः आजको युगलाई आधूनिक, वैज्ञानिक तथा सभ्य युग भनिन्छ । तर, यही युगमा मानिसले मानिसलाई बेचिरहेका छन्, जुन अमानवीय, घृणित तथा आपराधिक कार्य हो । यस्तो कार्य बढ्दै, फैलिँदै जानु भनेको सभ्य समाजका लागि कलंक पनि भएको समाजशास्त्रका विद्यार्थी विकल कार्कीको भनाई छ । आधूनिक युगको दासत्व भनिएको मानव बेचबिखन त्यस्तो अपराध हो जहाँ पुरुष, महिला र बालबालिकाको प्रयोग हुन्छ ।
उनीहरुलाई आर्थिक लाभका लागि उपयोग गरिन्छ र गलत कार्यहरुमा लगाइन्छ । यस्तो कार्यमा दलालहरुको प्रयोग हुन्छ । जसले अनुचित ढंगले श्रम तथा यौन शोषण जस्ता कार्यमा पुरुष, महिला तथा बालबालिकालाई जवरजस्ती लगाउँछन् । व्यक्तिको इच्छा विपरीत धम्की दिएर, जवरजस्ती गरेर, झुक्याएर वा प्रलोभनमा पारेर मानव बेचबिखन गरिनु अपराध हो । त्यही भएर आज यसलाई रोक्न अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाइ मानव तस्करी भइरहँदा पनि विश्वका प्रायः सबै देश यो समस्याबाट पीडित छन् । त्यही कारण यो विश्वको साझा समस्या बनिएको छ, त्यसैले यसको संगठित जालो तोड्नु आजको मुख्य आवश्यकता हो ।
मानव बेचबिखन, ओसारपसार नियन्त्रण सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु उम्किने र पीडितले न्याय नपाउने अवस्था विद्यमान छ । यस्तोमा अब नागरिक तहबाट पनि आवाज उठाइनु पर्ने नागरिक समाजको भनाई छ । ‘सरकारलाई दवाव दिएर प्रभावकारी कार्यान्वयनमा लाग्नु पर्दछ । यस्तो संगठित अपराधका बिरुद्ध सबै सचेत होऔं । आवाज उच्च बनाऔं र यसबिरुद्ध सशक्त ढंगले लडौं । होइन भने यस्तो अपराधबाट कुनै घर अछुतो रहने सम्भावना कम छ । ’ समाजसेवी धर्मराज कार्कीको भनाई छ ।

























