७ मंसिर, मेचीनगर : कुकुरको खानाको लागि प्रयोग हुने छुर्पीको निर्यात बढेको छ । पूर्वी काँकरभिट्टानाकाहुँदैं हुने छुर्पीको निर्यात अघिल्लो आर्थिक वर्ष २०७९/०८० को चारमहिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा ३ सय ५० दशमलव ४९ प्रतिशतले निर्यात बढेको मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेखले पुष्टि गरेको छ ।
हिमाली तथा पहाडी जिल्लामा पशुपालनबाट उत्पादित छुर्पीको विदेश निर्यात बढेसँगै विदेशी मुद्रा आर्जनमा राज्यलाई टेवा पुगेको छ । काँकरभिट्टानाका भएर निर्यात हुने मुख्यः दशवस्तुमध्ये ‐कुकुर वा विरालोको खाना) छुर्पी पाचौँ स्थानमा रहेको अभिलेखमा स्पष्ट छ ।
पहिला पहिला कोसेलीको रुपमा मानिसले चपाउने छुर्पी अहिले विदेशी बजारमा कुकुरको आहारा बनेको छ । पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनी बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका फिनल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टका सूचना अधिकारी तथा भन्सार अधिकृत गणपति कडेलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकमहिनासम्म विदेश छुर्पी निर्यात वापत कार्यालयले ४८ करोड ७८ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा २ लाख ४३ हजार ६ सय ९३ किलो छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ८२ लाख ९४ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको कार्यालयसँग तथ्याङ्क छ । गत आर्थिक वर्ष साउनदेखि कात्तिक महिनासम्म ६० हजार ७ सय ६५ किलो छुर्पी विदेश निर्यात भएको थियो ।
नेपाली छुर्पीको मुख्यः आयतकर्ता अमेरिका र क्यानडा रहेका छन् । अन्य देशको तुलनामा यी देशमा सवैभन्दा बढी छुर्पी निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । सबैभन्दा कम छुर्पी इजरायल पुग्ने गरेको छ । त्यहाँ रहेका नेपालीले कोसेलीको रूपमा लैजाने गरेको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को चारमहिना र चालु आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिको तुलनामा ३७ करोड ९५ लाख ६३ हजार ४ सय रुपैयाँ बराबर बढीको छुर्पी विभिन्न देशमा निर्यात भएको भन्सार अधिकृत कडेलले जानकारी दिनुभयो ।
‘चालु आर्थिक वर्षको चारमहिनामा पूर्वी नाकाबाट निर्यात हुने छुर्पीबाट नेपालले करोडौं रुपैयाँ आम्दानी गरेको छ ’ प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्नुभयो —‘हङकङ, इजरायल, जापान, कोरिया, मलेसिया, सिंगापुर, ताइवान, थाइल्यान्ड, युएई, भारत, क्यानडा, अमेरिका, जर्मन, बेलायत र रसियालगायतका देशमा कुकुरलाई खुवाउन थालिएपछि नेपालमा उत्पादित छुुर्पीको माग बढेसँगै निर्यात पनि बढेको हो जस्ले गर्दा विदेशी मुद्रा आर्जनमा राज्यलाई टेवा पुगेको छ ।’
कुकुरको खानाका लागि नेपालबाट छुर्पी नै धेरै निर्यात हुने गरेको छ । छुर्पी उत्पादकका अनुसार कुकुर र मान्छेले खानेमा केही फरक छ । कुकुरले खानेमा घिउको मात्रा हुनु हुँदैन भने मान्छेले खानेमा केही भए पनि हुन्छ । तर छुर्पी बनाउने किसानले घिउको मात्रा भने पूरै निकालेर बनाउने गरेको बताईएको छ । चौंरी वा गाई दुहेपछि त्यसलाई चिसो पानी वा चिस्यान गर्ने ठाउँमा राखिन्छ । जमेपछि त्यसको घिउको मात्रा निकालेर त्यसपछि दूधलाई फटाएर छुर्पी बनाइन्छ । यसलाई अँगेनाको भारमा आगोको रापले सेकाउने गरिएको इलामका छुर्पी व्यवसायी डोमा तामाङको भनाई छ । छुर्पीको मूल्य भने ठाउँ अनुसार फरक रहेको छ ।

























