२३ चैत्र, भद्रपुर : झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवाहरुलाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।
नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६/६ जना युवा कुषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।
आज विहान नगरपालिका परिसरमा आयोजित एक संक्षिप्त समारोहका बीच टनेल वितरण गरिएको भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिनुभयो ।
नगरपालिकाको युवा परिषदका कार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्की, ३ नं वडाध्यक्ष कमला थुलुङ, २ नं वडाध्यक्ष भीम केरुङलगायतले टनेल वितरण गर्नुभएको थियो ।
नगरभित्रका युवालाई विदेश पलायनबाट रोक्दै आफ्नै ठाउँमा व्यावसायिक कृषि उद्यमी बनाउन सहयोग पुग्ने सोचका साथ आ. व. २०७८/०७९ को बजेटमा युवालक्षित कार्यक्रम राखेर उद्यमी बन्न चासो देखाएका युवालाई टनेल वितरण गरिएको र यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ खर्च गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो । उहाँले आगामी वर्षहरुमा पनि युवालक्षित प्रभावकारी र उपलब्धिमूलक कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्नसक्ने गरी त्यसका अधारहरु तयार गरिसकिएको बताउनु भयो ।
निःशुल्क रुपमा टनेल पाएका युवाहरुले नगरपालिकाको कामको प्रशंसा गर्दै अब आफूहर व्यावसायिक रुपमा बेमौसमी खेती गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

























