१३ जेठ, मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना र मनिषा पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर प्रा.लि. मेचीनगर–६ काँकरभिट्टाको प्राविधिक सहयोगमा आज मेचीनगरका पत्रकारहरुका लागि अक्सिजन लेभल, छाती र नाडीको धड्कन मापन र आवश्यकता अनुसार छातीको एक्स–रे लगायतका प्रारम्भिक चरणका स्वास्थ्य जाँच र मापन निःशुल्क गरिने प्रेस क्लब मेचीनगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रोती सिस्नो र सचिव जि.आर. धितालद्वारा जारी सूचनामा यो महामारीको बेला फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरु उच्च जोखिममा रहने हुँदा पत्रकारहरुको लागि स्वास्थ्य जाँचको व्यवस्था गरिएको बताइएको छ । स्वास्थ्य जाँच गर्न आउँदा पत्रकारहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर आउनु पर्ने कुरा सूचनामा उल्लेख गरिएको छ ।
मनिषा पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर प्रा.लि.का सञ्चालक एवम् स्वास्थ्यकर्मी दिलिप सुवेदीका अनुसार यस महामारीमा आफ्नो ज्यान जोखिममा पारेर नागरिकलाई हरदम सुचना र समाचार प्रदान गर्न खटिने पत्रकारहरुको लागि आफूले यस कार्यको लागि प्राविधिक सहयोग गरेको र स्वास्थ्य जाँच निःशुल्क हुने वहाँले बताउनु भयो । २०७८ साल जेठ १३ गते विहिबार विहान ११ बजेबाट स्वास्थ्य जाँच गरिने सुवेदीले बताउँनु भयो ।
साथै उहाँले स्वास्थ्य जाँच गर्न आउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि आवश्यक भौतिक दुरी कायम गर्नका साथै फेस शिल्ड पनि प्रयोग गर्न अनुरोध गर्नु भएकोछ ।
परीक्षण अघि प्रेस क्लबको कार्यालयबाट फेस शिल्ड समेत निःशुल्क प्राप्त गर्न सकिने जानकारी प्रेस क्लब मेचीनगरका सचिव जि.आर. धितालले बताउनु भयो ।

























