४ भदौं मेचीनगर : ईलाम नगरपालिका वडा नं. ९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिज औपचारीक सञ्चालनमा आएको छ । इलाम झापा फास्ट ट्रयाक अन्तर्गत पुवा खोलाको बेली ब्रिज बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेपछि औपचारीक सञ्चालनमा आएको हो ।

भारतीय सरकारको सहयोगमा निर्माण भएको उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ्, पाँचथर र ईलामका बासिन्दालाई झापा सम्मको आवतजावत सहज भएको छ ।

पुल ४८ दशमलव आठ मिटरको रहेको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । एक करोड ४८ लाख रुपैयाँको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो ।



























