अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँगको विवादपछि नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। उनको राजीनामा पत्र केही दिनअघि इमेलमार्फत एन्फामा आएको एन्फा स्रोतले जानकारी दिएको छ।
विवाद र राजीनामाको पृष्ठभूमि:
उज्वेकिस्तानमा एसियन कप छनोटका क्रममा एन्फासँग विवाद भएपछि प्रमुख प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन्। उनले एक अन्तर्वार्तामा एन्फालाई विभिन्न आरोप लगाएका थिए र एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्वेकिस्तानबाट आफ्नो देश बेल्जियम गएका थिए।
तर, एन्फाले पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढङ्गले अघि बढ्दा विवाद भएको जनाएको थियो। एसियन कप छनोटका क्रममा भएको घटनाक्रमबारे जानकारी गराउन एन्फाले प्याट्रिकलाई पत्र पठाएको थियो, तर उनले त्यसको जवाफमा राजीनामा बुझाएका हुन्।
प्रो लाइसेन्स प्राप्त प्याट्रिक गत जेठ २२ गते नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। एसियन कप छनोटमा नेपालले श्रीलङ्का र लाओसमाथि सहज जित निकालेको थियो, तर उज्वेकिस्तानसँग ३–३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन सकेको थिएन।

























