५ फागुन, मेचीनगर : बलभद्र आधारभूत विद्यालय, मेचीनगर-३ का पूर्व विद्यार्थीहरूले आफ्नो विद्यालयमा सिसि क्यामेरा जडान गरेका छन्। २०२६ सालमा स्थापना भएको यो विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले ‘सुरक्षित समाजका लागि सिसि क्यामेरा’ अभियान सञ्चालन गर्दै कुल २ लाख २९ हजार रुपैयाँ बराबरका १४ वटा क्यामेरा जडान गरेका हुन्।
विदेशमा रहेका पूर्व विद्यार्थीहरूले आर्थिक संकलन गरी विद्यालयमा सुरक्षा प्रविधि स्थापना गरेका हुन्। यस अभियानको नेतृत्व बलभद्र विद्यालयका पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरले गरेका थिए।
आइतबार आयोजित समारोहमा मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले सिसि क्यामेराको औपचारिक उद्घाटन गरे। विद्यालय तथा वरपरको सुरक्षामा यसले ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ। इलाम जोड्ने धुलावारी मार्गमा पहिलोपटक सिसि क्यामेरा जडान गरिएको बताइएको छ।
यस अभियानमा योगदान गर्ने विभिन्न दाताहरूलाई सम्मान गरिएको थियो। विदेशमा रहेर सहयोग गरेका दाताहरूका परिवारका सदस्यहरूलाई विशेष रूपमा सम्मान गरिएको हो। साथै, विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने संघ-संस्थाहरू—मेची उद्योग वाणिज्य संघ, बहुवन सामुदायिक वन, जागृति युवा समाज, डाँडागाउँ कार्की गाउँ टोल विकास संस्था, धरधरे एकता समाज, जनहित समावेसी समाज, प्रेम ज्योति धिमाल समाज—लाई पनि सम्मान पत्र प्रदान गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी समाजले विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्याएका सबै शिक्षकलाई सम्मान गरेको छ। १४ जना शिक्षक र २ जना कर्मचारीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले यस्तो सम्मानले शिक्षकहरूलाई थप प्रेरणा मिल्ने बताए। कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा अध्यक्ष हर्कबहादुर बस्नेत, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवास, विद्यालयका पूर्व अध्यक्ष चन्द्र दास, तिलविक्रम लुङ्गेली, मेघनाथ थापा मगर, वर्तमान अध्यक्ष रामबहादुर थापा मगर, वडा सदस्य गीता पोखरेललगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक निरज पोखरेलले स्वागत गरेको कार्यक्रम शिक्षक देबु बानियाँले सञ्चालन गरेका थिए।

























