मेचीनगर, १६ जेठ / पहिलो वर्षको सुविधावापत पाएको तीन लाख ४० हजार रुपैयाँ नगरका श्रमिक वर्गको सार्वजनिक हितकोषमा जम्मा गरेर चर्चा बटुलेर नगरवासीसामु लोकप्रिय बन्न सफल कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले फेरी जनतामाझ प्रिय जनप्रतिनिधिको रुपमा पहिचान बनाउन सफल हुनुभएको छ ।
आफुले नगरपालिकाबाट पारिश्रमिक तथा भत्ता वापत प्राप्त दश लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेर उदारहणिय जनप्रतिनिधिको पहिचान बनाउनुभएको छ । पोखरेलले निर्वाचित भए लगत्तै आफुले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गर्नुभएको थियो । आफुले बोलेको कुरालाई अहिले उहाँले व्यवहारमा उतारेको बताउनुभएको छ । आर्थिक वर्ष २०७४/०७५ मा गाडी खरिद शिर्षकमा नगरपालिकाले छुट्याएको ४० लाख रुपैयाँ बजेट नगरप्रमुखले सडक निर्माणमा लगाउनभयो । आर्थिक वर्ष २०७६/०७७ मा नगरप्रमुख चढ्ने सवारी साधन खरिदका लागि नगरपालिकाले ६० लाख बजेट बिनियोजन गरेको थियो ।
नगरप्रमुख पोखरेलले गाडी किन्न अस्वीकार गर्दै सो रकम नगरपालिका आफैले स्थापना गरेको प्राविधिक कलेजलाई प्रदान गरेर विकासप्रेमी नगरप्रमुखको पहिचान बनाउनुभयो । नगरपालिकाले सो रकम खर्च गरेर वडा नं. ७ मा कनकाई पोलिटेक्निक इन्स्टिच्यूट नामक प्राविधिक कलेज सञ्चालनमा ल्याएको छ । कलेजमा सिभिल इन्जिनियरिङ, जियोमेट्रिकक इन्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजीको पढाई भइरहेको छ । अहिले कोभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न नगरपालिकाबाट पारिश्रमिक तथा भत्ता वापत प्राप्त दश लाख रुपैयाँको चेक नगरपालिकालाई हस्तान्तरण गर्नुभएको बताइएको छ । उहाँकै पहल, मिहनत र प्रयत्नपछि कनकाई सुरुङ्गामा कोभिड आइसोलेसन शुरु भएको थियो भने कनकाई नगर अस्पतालमा एआरभि रेविजको भ्याक्सिन, शुरु गराउनुभएको थियो । कनकाई नगरस्थित कोटीहोम कर्मयोग भवनमा रहेको पीसीआर प्रयोशालालाई मेची प्रादेशिक अस्पताल भद्रपुरको मातहतमा सञ्चालन हुने गरी स्वास्थ्य मन्त्रालयबाट अनुमती प्राप्त भएको उहाँको भनाई छ ।
१५ शैय्याको नगरस्तरीय अस्पताल अहिले सञ्चालनमा छ । त्यहाँ दुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने नगरको लक्ष्य छ । जसका लागि नगरको चालु बजेटबाट एक करोडसम्म उपयोग गरिने र स्थानीय सहयोगीहरुबाट एक करोडको आश्वासन प्राप्त भएको छ । उनले बताए । अस्पताललाई ५० शैय्यामा विस्तार गर्ने समेत नगरको योजना छ । ‘कोरोना महामारीबाट नागरिक एकदमै ठूलो पीडामा छन्,’ उहाँले भन्नुभयो — ‘अहिले बरु सडक पीच गर्दैनौं, स्वास्थ्य सेवालाई भरपर्दो बनाउँछौं ।’ अप्ठेरो बेलामा नागरिकलाई भोक र रोगले मर्न नदिने आफ्नो उद्देश्य रहेको उहाँको भनाई छ ।

























