सांसद रवि लामिछानेको शपथ नरोकिने

A notice in Nepali from Mechinagar Ward No. 10

७ पौंष, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको शपथ नरोकिने भएको छ। शपथ रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बिहीबारका लागि तय भएको शपथ हुने भएको हो। यद्यपि अदालतले अन्तरिम छलफलका सम्बन्धमा दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। इजलासले अन्तरिम छलफलमा झिकाउने आदेश लिखित रूपमा सार्वजनिक गरेको छैन।

चितवन–२ बाट निर्वाचित लामिछानेले विदेशी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उम्मेदवार हुन अयोग्य व्यक्तिको शपथ रोक्न माग गर्दै दुईवटा रिट सर्वोच्च अदालतमा दायर भएका थिए। लामिछानेको उक्त विवाद यसअघि निर्वाचन आयोगमा उजुरी परे पनि आयोगले उम्मेदवारी रद्दको निर्णय गरेको थिएन। निर्वाचनको कार्यतालिकाको अन्तिम समयमा उक्त उजुरी परेपछि आयोगले माग गरेको स्पष्टीकरण नै निर्वाचन सम्पन्न भइसकेपछि लामिछानेले पेस गर्नुभएको थियो। निर्वाचन सम्पन्न भइसकेको भन्दै आयोगले निर्णय गरेको थिएन।

आयोगले निर्णय नगरेपछि लामिछानेको नागरिकता छानबिनको मागसहित गृह मन्त्रालयमा समेत निवेदन परेको थियो। गृहले उक्त विषयको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई तोकेको छ। प्रहरीले नागरिकता र राहदानी विवादमा छानबिन गरिरहेको छ।

लामिछानेले विदेशी नागरिकका रूपमा नेपाल आएर विदेशी नागरिकता त्याग नगरी राहदानीसमेत लिएको तथ्य बाहिरिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। लामिछानेले नागरिकता त्यागेको सार्वजनिक घोषणा गरे पनि पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भने निर्वाचन आयोगलाई दिएको जवाफमा पनि स्वीकार गर्नुभएको छ। विदेशी नागरिकता त्याग नगर्दै नेपाली राहदानीसमेत लिएको विषयमा भने उहाँ मौन हुनुहुन्छ।

संवैधानिक इजलासले निर्वाचनसँग सम्बन्धित अन्य विवादमा भने कारण देखाऊ आदेश मात्र जारी गरेको छ। विपक्षीसँगको जवाफ प्राप्त भएपछि अदालतले अर्को सुनुवाइको प्रक्रिया अघि बढाउनेछ। निर्वाचनमा धाँधली भएकाले पुनः मतदान तथा मतगणनाको माग गरिएका ११ थान मुद्दामा सर्वोच्चले बुधबार सुनुवाइ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.