नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहने प्रण

A notice in Nepali from Mechinagar Ward No. 10

२६ फागुन, काठमाडौँ : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्षता,तटस्थता र विधिको पालनामा आफू प्रतिवद्ध रहने बताउनु भएको छ।

बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिनु भएको छ।

हेर्नुहोस् नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्ति :
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनस्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, संघर्ष र अभियानमा ज्यान गुमाउनुभएका सबै सपूत शहिदप्रति श्रद्धासुमन अर्पण गर्दछु।

मलाई साझा उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरू एवं मतदान गर्नु हुने सबै मतदाताप्रति हृदयतः आभार व्यक्त गर्दछु।

मित्रवत प्रतिस्पर्धामा रहनुभएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्न चाहन्छु।

मलाई प्रतिनिधि सभा र संविधान सभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु।

‘राष्ट्रपति-संस्था’ ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु।

नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्।

राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु।

निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सम्पूर्ण पक्षमा धन्यवाद व्यक्त गर्दछु।

सबै शुभेच्छुक तथा सहयोगी मनप्रति सतत् धन्यवाद व्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.