सगरमाथा आधार शिविरमा सरकारी कार्यालय स्थापना

A notice in Nepali from Mechinagar Ward No. 10

पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।

यसअघि खटाइएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगी घरमै बसेर भत्ता खाने, आरोहीले नक्कली फोटो तथा कागजपत्र तयार पारेर आरोहण पूरा गरेको दाबी गर्ने गरेपछि सम्पर्क कार्यालय नै स्थापना गर्नुपरेको पर्यटन विभागले जनाएको छ ।

विभागका आरोहण शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार वैशाख २५ देखि सुरु हुने अनुमान गरिएको सगरमाथा आरोहणलाई व्यवस्थित गर्न आरोहण अवधिभर सात जना कर्मचारी खटिने गरी सम्पर्क कार्यालय खोलिएको हो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा आधार शिविरमा हुने गरेका गैरकानुनी क्रियाकलाप, आरोही समूहबीच हुने झगडा, आरोहणका क्रममा हुने ट्राफिक जाम, उद्धारमा समस्या र सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुग्नेलगायतका गुनासा आउने गरेका थिए । तिनलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय स्थापना गरिएको हो ।”

छ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहणमा जाने पर्वतारोहीले एक जना सम्पर्क अधिकारी लैजानुपर्ने कानुनी व्यवस्था छ ।

यसैबीच विभागका निर्देशक युवराज खतिवडाले चौथो शिविरसम्मको बाटो तयार भइसकेकाले चैत २५ सम्म सगरमाथा आरोहण सुरु हुने बताउनुभयो । अहिले प्रतिकूल मौसमका कारण आइसफल डाक्टरहरूले आराम गरिरहेको र आरोहीहरूले आधार शिविर र दोस्रो शिविरसम्मै अभ्यास गरिरहेको उहाँले बताउनुभयो । अहिले ३० भन्दा बढी आरोही समूहका झन्डै तीन सय आरोही सगरमाथा आधार शिविर र दोस्रो आधार शिविरमा आरोहणको पर्खाइमा छन् ।

विभागका अनुसार हालसम्म सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४६३ आरोहीले अनुमति लिएका छन् । यो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै धेरै आरोहीले अनुमति लिएका छन् । यसअघि सबैभन्दा धेरै सन् २०१९ मा ३१५ जनाले आरोहण अनुमति लिएका थिए । त्यस्तै यस सिजनमा आरोहणका लागि खुला गरिएका २४ वटा हिमचुली आरोहणका लागि हालसम्म एक हजार ४६ जनाले अनुमति लिएका छन् ।

आरोहण अनुमतिबाट ७३ करोड ५४ लाख ६० हजार ९०३ रुपियाँ आम्दानी भएको छ ।

यस वर्ष सगरमाथापछि सबैभन्दा धेरै ल्होत्सेका लागि १११, अमादब्लम ७४, नुप्त्से ६३, मकालु ५८, अन्नपूर्ण पहिलो ५४, कञ्चनजङ्घा ४२ र धौलागिरि आरोहण गर्न ३५ जनाले अनुमति लिएका छन् ।

म्याग्दी समाचारदाताका अनुसार धौलागिरि आरोहणका लागि अनुमति लिएकाहरू आधार शिविरमा पुगिसकेका छन् । उनीहरू अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमै रोकिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४, मुदीमा अवस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष र ११ महिलाले अनुमति लिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो । उनीहरू सेभेन समिट, इलाइट र पाइनर एड्भेन्चरको व्यवस्थापनमा धौलागिरि आरोहण गर्न लागेका हुन् ।

उनीहरूबाट ८१ लाख ५४ हजार १७० रुपियाँ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ ।

 

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.