सुत्केरी पोषण बोकेर र बर्खायाममा हुने रोगको जोखिम कम गर्न स्वास्थ्यकर्मी वडा वडामा

A notice in Nepali from Mechinagar Ward No. 10

१८ असार, मेचीनगर : बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम कम गर्न झापाको मेचीनगर नगरपालिकाले नगरका प्रत्येक वडामा सरसफाई तथा पोषण सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रममा सञ्चालन गरीरहेको छ ।

बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम उत्तिकै रहने भएकाले नगरपालिकाको स्वास्थ्य शाखाले नगरका १५ वटै वडामा यस्ता सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेकोे स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार झाडा पखला तथा सरसफाई सम्बनिध स्वास्थ्य शिक्षा कायृक्रम साथै महिला स्वास्थ्य स्वयम्सेविकाहरुको आमा समुहमा गरिएका क्रियाकलाप सहितको पोषिलो खानेकुरा तथा पोषण सम्बनिध शिक्षा कार्यक्रम अहिले प्रत्येक वडामा सञ्चालन भइरहेका छन् । बर्षातमा मलेरिया, डेंगु , झाडा पखला, हैजा रोगहरु लाग्ने सम्भावना रहन्छ ।

मलेरिया वर्षामा हुने आम तर गम्भीर संक्रामक बिमारी भएको शाखा संयोजक निरौलाको भनाई छ । ‘जमेको पानीबाट फैलने लामखुट्टेले टोक्दा यस्तो रोग लाग्न सक्छ । यो रोग एनाफिलिज लामखुट्टेको टोकाइबाट सर्छ । यसबाट बच्नका लागि घर आसपासमा पानी जम्न दिन हुँदैन यी विषयमा नगरका स्वास्थ्यकर्मीहरुले हरेक टोल टोलमा पुगेर टोलवासीलाई सचेत गराईरहका छन् निरौलाले भन्नुभयो ।’

डेंगुको ज्वरो पनि लामखुट्टेको टोकाइबाट फैलने रोग भएको उहाँले जानकारी दिनुभयो । यसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । साथै घर बाहिर निस्कनुअघि पूरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ ।

वर्षाको मौसमा झाडा पखला फैलने धेरै सम्भावना हुने जीवाणुको संक्रमणको कारण हुनसक्ने उहाँको भनाई छ । सुन्दा सामान्य लागेपनि झाडापखाला, भाइरल ज्वरो लगायत रोगले जटिल रुप लिए मानिसको ज्यानै जान समेत सक्छ ।

खासगरी प्रदूषित पानी र खाद्य पदार्थको कारण यस्तो रोग फैलने भएकाले बर्षातमा घर वाहिरको खानेकुरा, फुटपाथको खानेकुरा बासी, सडे गलेको खानेकुरा सेवन गर्नु नहुने र पानी राम्ररी उमालेर मात्र पिउनुपर्ने स्वास्थ्य संयोजक निरौलाको सुझाव छ । पानीलाई उमालेर तथा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न सके धेरै रोगबाट बच्न अनि बचाउन सकिने निरौलाले भन्नुभयो ।

भिब्रियो कोलेरा नामक जीवाणुको कारण फैलने हैजा पनि दूषित भोजन वा पेय पदार्थको कारण हुने र यो रोग लागेपछि पेट दुख्नुका साथै वान्ता, झाडा पखला लाग्न सक्छ । यसले शरीरमा पानीको मात्रा कम हुन्छ । मिनरल्सको मात्रा कम हुन्छ । त्यसैले रोगी एकदमै कमजोर हुन्छन् । यसबाट बच्नका लागि पनि खानपानमा ध्यान दिनुपर्ने शाखाका सह संयोजक एवम् स्वास्थ्य सहायक पुजन अधिकारीको भनाई छ । यस्तै रोगको जोखिम कम गर्न स्वास्थ्य शाखा हरेक वडा वडा पुग्ने गरेको छ ।

स्वास्थ्यकर्मीहरुको टोलीले मेचीनगरका गर्भवतीहरुलाई पोषिलो खानेकुरा र स्वास्थ्य परामर्श समेत दिने गरेका छन् ।

नगरका गर्भवती महिलालाई स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परामर्श मात्र दिने गरेको छैनन् नेपाल सरकारले अघि सारेको ‘होम डेलीभरी ’(घरमै सुत्केरी गराउने परम्पराको अन्त्य) का लागि र अस्पतालमै पुगेर प्रसुती गराउन प्रोत्साहन गराउने तथा नगरमा मातृ तथा शिशु मृत्युदर घटाउने उद्घेश्यले सुत्केरी पोषण खानेकुरा लिएर प्रत्येक वडा वडामा पुग्ने गरेकका छन् । १ केजी ध्यु ,१ केजी मह , १ केजी गेडगुडी वितरण गर्दै गर्भवतीलाई पोषिलो खानेकुरा उपलब्ध गराउँदै आएको छ । उनीहरुले प्राप्त गर्ने छन् । यो सुविधा लिन गर्भवतीहरुले नजिकै को स्वास्थ्य संस्थामा नियमितरुपमा गर्भ परीक्षण गराउनुपर्ने, नियमितरुपमा खोप लगाउनु पर्ने र अस्पतालमा सुत्केरी हुनुपर्ने हुन्छ ।

पोषिलो खानेकुरासँगै शारीरिक तथा मानसिक रुपमा जटिल अवस्था झेलिरहेका गर्भवतीलाई विभिन्न संक्रमणबाट बच्न र पेटमा रहेको शिशुको ख्याल गर्न अपनाउनुपर्ने सतर्कताका विषयमा स्वास्थ्यकर्मी मार्फत परामर्श समेत दिईएको स्वास्थ्य शाखा संयोजक निरौलाको भनाई छ । पेटमा रहेको शिशु कसरी स्वस्थ्य राख्ने र सुरक्षित रुपमा सुत्केरी हुन सकिन्छ कि सकिन्न भन्ने मानसिक तनाव बाट टाढा राख्न यो पनि यो सचेतना कार्यक्रम महत्वपूर्ण रहेको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

गाउँका सबै गर्भवतीलाई भेटेर यस्तो समयमा विभिन्न संक्रमणबाट बच्न अपनाउनुपर्ने सतर्कता, गर्भावस्थामा देखिने खतराका लक्षणहरु, पोषिलो खानेकुराको महत्व, सरसफाईको आवश्यकता लगायतका विषयमा जानकारी गराउने गरिएको उपप्रमुख उप्रेतीको भनाई छ ।

आम्दानीको स्रोत टुटेको र बजारजाने अवस्था नभएपछि किनेर खानुपर्ने पोषिलो खानेकुराबाट बञ्चित भएका गाउँभरीका गर्भवतीलाई नगरपालिकाले खानेकुरा ल्याईदिँदा निकै खुशी समेत मान्ने गरेका छन् ।

सबैलाई धेरथोर पोषिलो खानेकुरा दिएर पोषिलो खानेकुराबाट बञ्चित नगरेको मेचीनगर —३ की एकजना महिलाले सुनाउनुभयो । पोषिलो खानेकुराको अभावमा जन्मने बच्चा कुपोषित हुने, स्वयंम गर्भवतीको शक्तिमा कमी हुने, सहज र सुरक्षित सुत्केरी नहुने भएकाले सुरक्षित मातृत्व सेवा दिएर मातृशिशु मृत्युदर र कुपोषणको दर शुन्यमा राख्ने नगरको योजना रहेको उपप्रमुख उप्रेतीले बताउनुभयो । झोला भरी सामान लिएर स्वास्थ्यकर्मीहरु वडा वडा आएपछि गर्भवतीहरुमा खुशी छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.