२९ असार मेचीनगरः यसवर्षको भानु प्रतिभा पुरस्कार मेचीनगरका विभिन्न विधाका चारजना श्रष्टालाई प्रदान गरिएको छ ।
झापा मेचीनगर— ६ काँकरभिट्टा निवासी रुविना क्षेत्री वेल्बासेसहित चारजनालाई प्रदान गरिएको हो । खेलकुद क्षेत्रमा अब्बल मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान क्षेत्रीले खेलकुदको माध्यमबाट झापाहित सिङ्गो नेपालकै नाम अन्तर्राष्ट्रियक्षेत्रमा चिनाउन सफल भएको भन्दैं उहाँले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद २१ हजार राशिसहित सम्मान पत्रसहितको प्रतिभा पुरस्कारबाट सम्मान प्रदान गरिएको थियो ।
शुक्रबार झापाको काँकरभिट्टामा रहेको भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा क्षेत्रीसहित मेचीनगरका चारजना स्रष्टालाई सम्मानित गरेको छ । काँकरभिट्टास्थित भानुभक्तको पूर्णकदको शालिकमा माल्यार्पणपछि आयोजित समारोहमा विभिन्न विधाका चारजनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन रामायण वाचन गरेर गरियो ।
सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै भूमिका फ्याक लिम्बूलाई पनि भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो । सञ्चार क्षेत्रमा कलम चलाउने महिला सञ्चारकर्मी लिम्बुलाई नगद ११ हजार रुपैयाँसहितको सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रतिष्ठान अन्तरगत रहेको हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्य तर्फकी साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रवद्र्धनतर्फ पञ्चेबाजा तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६लाई पुरस्कृतसहित सम्मान गरीयो । सवैलाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कृतसहित सम्मान गरिएको थियो । लक्ष्मी अच्युत ढुंगानालाई साहित्यमा पुर्याएको योगदानको कदर गर्दै साहित्य पुरस्कारबाट सम्मान गरिएको हो ।
सम्मानित एवम् पुरस्कृत सवैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराज नेपाल, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलगयातले नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल, विशिष्टहरु अतिथि उप्रेती, संविधानसभा सदस्य रविन कोइरालालगायतले बोल्नुभएको थियो । उहाँहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यकाक्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । आदिकवि आचार्य नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कवि भएको भन्दैं उहाँहरुले बाल्मीकि रामायणका अनुवादककारुपमा प्रख्यात रहेको चर्चा गर्नुभयो ।
महासचिव सुशील आचार्यले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत गर्नुभएको थियो । स्वदेशी एवम् विदेशी श्रष्टाहरुले खचाखच कार्यक्रमस्थल काँकरभिट्टा खानोपानी उपभोक्ता तथा सरसफाई समितिको सभाहलमा संगिनीसहित विविध नृत्य प्रस्तुत गरिएको थियो । प्रतिोगितात्मक रामायण वाचन तथा कवि गोष्ठीमा थुप्रैले आ आफ्नो पाठ प्रस्तुत गरेका थिए ।


























