१५ साउन, मेचीनगर : आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ ।
”बर्खाको बेला छोरीचेली लगायत खेतीमा काम गर्ने मानिसहरु शारीरिक श्रमका कारणले असार १५ मा दही, चिउरा, केरा जस्ता पोसिलो खाना खाएको एक महिना पछि शारीरिक तन्दुरुस्तीका लागि साउन १५ मा खीर खाने प्रचलन चलिआएको हो ।” यसै गरी त्यसको केहीपछि तीज अनि दशैं पर्ने भएकोले हरेक चाडपर्वहरुमा खाने खानाहरु शारीरिक तन्दुरुस्तीसँग जोडिएको काँकरभिट्टा बहुमुखी क्याक्पसका प्राध्यापक हेमकुमार खड्काको भनाइ रहेको छ ।
खिर कस्तो परिकार हो?
दूध–भात अर्थात् मीठो र पोसिलो खानेकुरा अनि यही हाम्रो सर्वप्रिय दूध–भातसँग सख्खर अथवा गुँडको संयुक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म बासमती अथवा तराईतिर पाइने करिया कामत होस् वा टाई चून अथवा अन्य मसिनो बास्नादार चामल त्यो नभए आफूसँग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरिवल जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।
नेपाली चलनचल्तीमा खिर विभिन्न उत्सव, चाडबाड, पूजाआजा, विवाह, व्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएका हरिया दुना–टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेल रोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।

























